बाँके । नेपालगन्ज उप–महानगरपालिका–१२ का ५६ वर्षीय जेतविक्रम शाहले ११ औं दिनमा महाकाली–मेची शान्ति यात्रा सम्पन्न गरेको छन् । उनले गत साउन १५ गते महाकालीबाट आफ्नो शान्ति साइकल यात्रा सुरु गरेका थिए ।
शाहले बिहीबार पूर्वी नाका काँकरभिट्टा पुगेर साइकल यात्री सम्पन्न गरेका छन् । कोभिडबाट ज्यान गुमाउने नागरिहरुप्रति समर्पित रहेर शाहले नेपालको पश्चिमदेखि पूर्वसम्मको एक हजार एक सय ७८ किलोमिटर शान्ति यात्रा सम्पन्न गरेका हुन् ।
शाह तीन महिनाअघि कोरोना संक्रमणमुक्त भएका थिए ।
साइकल यात्रा समापन समयमा शाहलाई काँकरभिट्टाका साइक्लिष्ट, स्थानीयवासी, जनप्रतिनिधि र राजनीतिक दलका अगुवाहरुले भव्य स्वागत गरेका छन् ।
नेपालगन्ज साइकिलिंग क्लबका सदस्यसमेत रहेका शाहले यसअघि गतसाल एकैदिनमा दुई सय ६० किलोमिटर यात्रा गरेका थिए । उनले सो यात्राका क्रममा नेपालगन्जदेखि टीकापुर पुनः टीकापुरदेखि नेपालगन्ज र आशपासका क्षेत्रमा साइकल चलाएका थिए । शाहका अनुसार उक्त रेकर्ड नेपालमै पहिलो रहेको बताउँछन् ।
त्यस्तै नेपालगन्जदेखि दोधार चाँदनीसम्मको दुई सय १५ किलोमिटर साइकल यात्रा पनि शाहले एकैदिनमा नै तय गरेका थिए । उनले एकैदिनमा ‘टूर दे ठाकुरद्वाराको पनि यात्रा साइकलबाटै गरेका थिए ।