काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट टिम भैरहवा ग्लाडीयटर्सले टिमको मुख्य प्रशिक्षकमा पुबुदु दसानायकेलाई निरन्तरता दिएको छ ।
भैरहवाले बिहीबार चौंथो संस्करणको ईपीएलका लागि मुख्य प्रशिक्षकमा पुबुदुलाई निरन्तरता दिईएको जनाएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक समेत रहेका पुबुदुलाई भैरहवाले गत वर्ष नै मुख्य प्रशिक्षक चयन गरेको थियो ।
'कोरोनाका कारण प्रतियोगिता केहि पछि सरेपनि हामीले प्रशिक्षकको रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रमुख प्रशिक्षक पुबुदु दसानायकेलाई नै जिम्मेवारीमा निरन्तरता दिएका छौं,' भैरहवाले विज्ञप्तिमा जनाएको छ ।
चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ।
श्रीलंकन मुलका क्यानेडीयन प्रशिक्षक पुबुदु नेपालले सन् २०१४ मा टी-ट्वान्टी विश्वकप खेल्दा टिमको मुख्य प्रशिक्षक रहेका थिए ।
रोय डायसले टिम छाडेपछि पुबुदु सन् २०११ मा नेपालको मुख्य प्रशिक्षक बनेका थिए ।
यस्तै नेपालले विश्व क्रिकेट लिग डिभिजन-४ र डिभिजन-३ को उपाधि जित्दै डिभिजन २ को यात्रा गर्दा पुबुदु मुख्य प्रशिक्षक रहेका थिए ।
नेपाल छाडेपछि भने पुबुदु अमेरिकाको मुख्य प्रशिक्षक भएका थिए । पुबुदुले अमेरिकालाई डिभिजन-४ बाट आईसीसीको एकदिवसीय अन्तराष्ट्रिय मान्यता दिलाउन सफल भएका थिए । नामिबियामा भएको डिभिजन-२ बाट अमेरिकाले एकदिवसीय मान्यता पाएको थियो ।