काठमाडौं । दाङका शुभम् खनाल र काठमाडौंकी सुनिरा थापाले एनएसटीए जुनियर उमेरसमूह सफ्ट टेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् ।
यु–१५ सिंगल्सको ब्वाइजमा शुभम् र गल्र्समा सुनिरा पहिलो भएका हुन् । दाङकै योगेशकुमार भण्डारी र गल्र्समा मोरङकी आभना कार्की दोश्रो भए ।
सुन्दरबस्तीस्थित नौलिन स्पोर्ट्स भिल्लामा भएको प्रतियोगिताको यु–१८ ब्वाइज सिंगल्समा मोरङका आशिष बोहरा पहिलो र काठमाडौंका बृजेश पाण्डे दोश्रो भए । सोही स्पर्धाको गल्र्समा कैलालीकी भावना पनेरु पहिलो र मोरङकी अभिलाषा लामिछाने दोश्रो स्थानमा रहे ।
नेपाल सफ्ट टेनिस संघद्वारा आयोजित प्रतियोगिताको यु–२१ सिंगल्सको ब्वाइजमा युकेश योञ्जन र गल्र्समा श्रेया राईले शीर्ष स्थान हात पारे । दुवै मोरङका हुन् ।
प्रतियोगिता दक्षिण कोरियामा नोभेम्बर १८ देखि २५ तारिखसम्म हुने तेश्रो विश्व जुनियर सफ्ट टेनिस च्याम्पियनसिपका लागि खेलाडी छनोट गर्न आयोजना गरिएको संघका अध्यक्ष विनयविक्रम शाहले जनाएका छन् ।