काठमाडौं । इंग्लिस टेस्ट टिम कस्तो छ भन्दा त्यसको पहिलो उत्तर हुन सक्छ, रुट अगाडि अगाडि अरू पछाडि पछाडि ।
रुट अर्थात कप्तान जोए रुट । क्रिकेटमा भन्ने गरिन्छ, कप्तानीको बोझले राम्रा भन्दा राम्रा ब्याट्सम्यानले पनि दबाब महसुस गर्न सक्छ र त्यसकै कारण उनको प्रदर्शन कमजोर हुन सक्छ ।
तर रुट अपवाद देखिन्छन् । उनी कप्तान त हुन् नै, टिमका लागि ब्याटबाट सर्वाधिक राम्रो प्रदर्शन गर्ने उनी नै हुन् । उनी पछाडि अन्य खेलाडीको प्रदर्शन भने निकै कमजोर रहेको छ ।
भर्खर इंग्ल्यान्ड र भारतबीचको पहिलो टेस्ट बराबरीमा टुंगियो । त्यसमा रुटले ६४ र १ सय ९ रनको उत्कृष्ट प्रदर्शन गरे ।
ट्रेन्ट ब्रिजको त्यस खेलमा उनीपछि इंग्ल्यान्डका लागि दोस्रो उच्च व्यक्तिगत स्कोर जम्माजम्मी ३२ थियो । फेरि यो वर्ष रुटले १ हजार ६४ रन बनाएसकेका छन् । उनी पछाडि सबैभन्दा बढी रन बनाउने खेलाडी हुन्, डन लरेन्स । उनको ब्याटबाट निस्केको रन संख्या हो, खालि ३ सय ५४ । यो त रुट अगाडि अगाडि अरू पछाडि पछाडि नै त हो ।
यो सबै स्थितिलाई भने इंग्लिस प्रशिक्षक क्रिस सिल्भरउड फरक दृष्टिकोणबाट हेर्न रूचाउँछन् र मान्छन्, रुटले कप्तानीको बोझ खुबै ढंगले निभाएका हो । हो, उनलाई पनि चिन्ता छ, अन्य खेलाडीको प्रदर्शनमा ।
उनी भन्छन्, ‘अन्य ब्याट्सम्यानले पनि रन बनाउन अत्यावश्यक भइसकेको छ, नत्र रुटमाथि दबाब बढ्ने छ र यसको नकारात्मक असर पनि हुन सक्नेछ ।’
–बीबीसीको सहयोगमा ।