काठमाडौं । टोकियो ओलम्पिक आइतबार भव्यताका साथ सम्पन्न भयो । कोभिड–१९ ले पुरा विश्व आक्रान्त हुदाँ समेत जापानले सफलतापूर्वक प्रतियोगिताको आयोजना गर्यो ।
नेपालले समेत टोकियो ओलम्पिकमा सहभागी बन्यो । युनिभर्सालिटी कोटामा पौडी र एथलेटिक्सका तीन जनाले सहभागीता जनाए । सुटिङ र जुडोमा दुई जनाले वाइल्ड कार्ड पाएर खेले ।
टोकियो ओलम्पिक मात्र हैन, दक्षिण एसिया बाहिरको अन्तराष्ट्रिय खेल स्पर्धामा नेपालको प्रर्दशन र नतिजा नाजुक छ । प्रतियोगिताको संघारमा अनेकौं काण्ड घरेलु खेलकुदमा घट्ने गर्छन् । खेलकुद संघ र ओलम्पिकको बदमासी छताछुल्ल हुने गर्दछ । अझ राज्यका जिम्मेवार निकाय खेलकुद मन्त्रालय र राखेप निरिहता हेरिनसक्नु हुन्छ ।
टोकियो ओलम्पिकले घरेलु खेलकुदलाई खासै उर्जा भर्न सकेन । खेलाडीको व्यक्तिगत प्रर्दशन सुधारमै ओलम्पिक सक्कियो । नियमित प्रशिक्षण, प्रतियोगिता, पुरस्कार र योजना बिना अन्तराष्ट्रिय उपलब्धी हासिल गर्न सकिदैन भन्ने खेलकुदका पदाधिकारीलाई थाहा नभएको भने हैन तर गर्ने कसले ?
काम गर्ने हात भन्दा मुख मात्र चल्ने पदाधिकारी भएपछि खेलकुद यो हरिबिजोग क्रमभंग हुने देखिदैन । टोकियो ओलम्पिकको सन्दर्भमा पदाधिकारीले पुन: एक घरेलु खेलकुदलाई बदनाम गराए । केही प्रकरणलाई स्मरण गर्न खोजिएको छ ।
प्रकरण एक – जम्बो टोली
टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडी र ४ प्रशिक्षक सहभागी थिए । तर २६ जनाको नेपाली टोलीमा अन्य सबै खेलकुदका पदाधिकारी थिए । अन्तराष्ट्रिय स्पर्धामा आफु अनुकुलका पात्रलाई विदेश घुमाउने प्रचलन घरेलु खेलकुदमा नयाँ हैन तर यो क्रम रोकिएको छैन । अन्तराष्ट्रिय प्रतियोगितामा खेलाडीको तुलनामा पदाधिकारीको भिड नेपाली खेलकुदको नियती बन्दै आएको छ । विदेश जानु, खेल स्पर्धाको अवलोकन गर्नु र अन्तराष्ट्रिय प्रतियोगिताको सहभागीता र आयोजनाको अवलोकन गर्नु गलत हैन । त्यो ज्ञान, सिप स्वदेशमा लगाउनु हो ।
तर स्वदेश फर्किएपछि अधिकांश पदाधिकारी ‘दुला’ पस्ने आरोप छ ।
प्रकरण दुई – गोपीचन्द्र पार्की प्रकरण
टोकियो ओलम्पिकमा सबैभन्दा बढी चर्चा र अन्याय गोपीचन्द्र पार्कीमाथि भयो । ओलम्पिकमा छनोट गरेर झण्डै ८ महिनादेखि अभ्यास गरिरहेका गोपीलाई अन्तिम समयमा आएर ओलम्पिक जाने टिमबाट बाहिर राखियो । म्याराथन स्पर्धामा सहभागी हुन समय नपुग्ने कारण देखाईयो । तर झण्डै ८ महिना आफ्नै खर्चमा ओलम्पिकको तयारी गरेका गोपीमाथि संघ र ओलम्पिक कमिटीले बदमासी गरे । समय पुग्थेन भने किन पहिल्यै जानकारी गराएनन्, अर्को म्याराथनमा सहभागी गराउन नसक्ने अवस्थामा अन्य स्पर्धामा किन प्रयास गरेनन् । समयमा ‘मेल चेक’ गर्र्न र अन्तराष्ट्रिय समन्व्य गर्नमा संघ र ओलम्पिक चुकेको आरोप छ । छानविन गनुपर्ने संस्था राखेप त्यही बदमासीको साक्षी बस्यो । गोपी प्रकरणको न छानविन भयो, तर राज्यले क्षतिपूर्ती दियो । न्यायका लागि लड्नुपर्ने खेलाडी संघ सहितका खेलकुदमा क्रियाशिल संघ संस्था रमिते बसे । खेलाडी संघले एउटा बिज्ञप्ति निकालेर टार्यो । संघ, ओलम्पिक र राखेपमाथि हस्तक्षपकारी आन्दोलन गर्न सकेन ।
प्रकरण तीन – पदीय मर्यादा भुलेर म्यानेजर
खेलकुदको नेतृत्व तहमा रहेका अधिकांश समाजमा प्रतिष्ठा र इज्जत कमाएकै छन् । खेल संघको नेतृत्व लिएका अधिकांश राजनीतिक र आर्थिक हिसाबले सक्षमनै मानिन्छन् । देश, विदेश घुमेकै देखिन्छन् । तर ओलम्पिक, एसियन गेम्स र साग जस्ता अन्तराष्ट्रिय प्रतियोगिता आएपछि उनीहरुमा अनौठो विदेश मोह देखिन्छ । एउटा ओलम्पिक मान्यताको राष्ट्रिय संघ चलाएका अध्यक्ष पदीय हैसियत लत्याउँदै अर्को खेलको म्यानेजर बनेर ओलम्पिक पुग्छन् । टोकियो ओलम्पिकमा त्यही दोहरियो । कबड्डी संघकी अध्यक्ष तुलासा थापा जुडोको म्यानेजर बनेर ओलम्पिक पुगिन् । त्यस्तै, फेन्सिङका अध्यक्ष सुनिलकुमार श्रेष्ठ जुडोको म्यानेजर बने । तेक्वान्दोका प्रकाश शमशेर राणा सुटिङको म्यानेजर बने । बक्सिङका राम अवाले स्विमिङको म्यानेजर बनेर जापान उडे । ओलम्पिक विवादीत बनेपछि ओलम्पिक कमिटीका उपमहासचिव पिताम्बर तिम्सिना र राखेप उपाध्यक्ष शिव कोईरालाले नाम फिर्ता लिए । तिम्सिना र कोइराला जापान नगएपछि एथलेटिक्सको टिम व्यवस्थापक विहिन बनेको थियो ।
प्रकरण चार – कोभिड रिपोर्टको खेल
गोपीचन्द्र पार्कीको नाम ओलम्पिक जाने सूचिबाट हटेपछि सरस्वती चौधरीलाई जापान पठाउन सिफारिस गरियो । सरस्वतीसंगै सिफारिसमा परिन्, प्रशिक्षक इन्द्रकुमारी मल्ल । उनी जापान जान टोलीसंग होटलमै बसिन् । तर जापान उड्ने मिति नजिकिदै गर्दा उनलाई कोभिड देखिएको रिपोर्ट सार्वजनीक भयो । रिपोर्टमा पोजेटिभ थियो । तर रिपोर्ट संकास्पद देखिन्थ्यो । न लिङ्ग मिल्थ्यो, न उमेर । न अन्य तथ्य ।
तर ओलम्पिक कमिटीले एक पटक पोजेटिभ देखिएपछि जापान जान नमिल्ने भन्दै मल्लको भ्रमण रद्ध गर्यो । मल्लको स्थानमा पार्कीलाई प्रशिक्षण दिएका सन्तोष श्रेष्ठको नाम सिफारिस गर्यो । इन्द्रले रिपोर्ट आफ्नो नभएको भन्दै पुन परिक्षणको माग गरिन् । नियमित परिक्षण हुने स्टार सहित विभिन्न स्थानमा परिक्षण गराईन् । सबै रिपोर्ट नेगेटिभ आयो । तर ओलम्पिकले मिल्दैन भन्दै इन्द्रलाई पन्छायो । आफुलाई जापान जान रोकपछि मल्ल ओलम्पिक कमिटीको भवनबाट हाफ फालेर आत्महत्या गर्छु भन्दै सातदोबाटो समेत पुगेकी थिईन् । जापान उड्ने अघिल्लो दिनसम्म एनओसी भवनमा रुवाबासी गरेकी थिईन् । तर एनओसीका महिला कमिसनका पदाधिकारी उनलाई सम्झाई, बुझाई गरे । थामथुम पारे ।
मल्ललाई एथलेटिक्स संघले सिफारिस गरेको थियो । त्यही प्रतिशोध ओलम्पिकले साधेको एथलेटिक्स संघको आरोप छ । एनओसीका महासचिव ओलम्पिकमा बसेर एथलेटिक्स संघ चलाएको अध्यक्ष राजीवबिक्रम शाह आरोप लगाउँछन् । संघ र ओलम्पिकको जुगाको लडाईमा पार्कीपछि मल्ल शहिद बनेको खेलकुद वृत्तमा चर्चा छ ।