काठमाडौं । वर्षाले क्रिकेटलाई जत्तिको दु:ख कुनै पनि खेललाई दिंदैन होला । पानी पर्न के सुरु भयो, क्रिकेटको खेल रोकियो । हल्का पानी पर्दा पनि खेल सम्भव हुन्न ।
क्रिकेटले अहिलेसम्म वर्षाले दिने दु:खको समाधान निकाल्न सकेको छैन् । सायद निकाल्ने पनि छैन् । रमाइलो त अझ के भने क्रिकेट खेलको जन्म नै त्यस्तो देशमा भएको छ, जहाँ धेरै पानी पर्छ ।
अनि कति बेला पानी पर्छ, त्यो पनि टुंगो हुन्न । भर्खर इंग्ल्यान्ड र भारतबीचको पहिलो टेस्ट सकिएको छ, बराबरीमा । टेस्ट चौथो दिनको समाप्तीसम्म निकै रोमाञ्चक मोडमा थियो । इंग्ल्यान्डले पनि जित्न सक्थ्यो, भारतले पनि । सायद भारतको सम्भावना बलियो थियो । भारतले जितका लागि २ सय ९ रनको लक्ष्य पाएको थियो ।
त्यसका जवाफमा एक विकेट गुमाएर ५२ रन बनाइसकेको थियो । यस्तोमा धेरै हदसम्म जितको सम्भावना भारतकै थियो । भारतीय कप्तान विराट कोहलीले पनि दाबी गरे, ‘खेल हाम्रै पकडमा थियो, तर वर्षाले सबै सम्भावना समाप्त पार्यो ।’ इंग्लिस कप्तान जोए रुटले पनि आफ्नो टिमको जित सम्भावना देखेका थिए ।
त्यसैले पनि उनले पनि दाबी गरे, ‘हामी बलियो स्थितिमा थियौं ।’ उनको दाबी यस्तो किन पनि भन्दा टेस्ट भइरहेको ट्रेन्ट ब्रिजमा कुनै पनि टिमका लागि चौथो इनिङ्समा खेल्नु सजिलो हुन्न । फेरि भारत विजयी लक्ष्य पछ्याउने क्रममा प्राय: धरासायी भएका उदाहरण धेरै छन् । तर पाँचौ तथा अन्तिम एक बल पनि सम्भव भएन् र ‘वास आउट’ कै स्थिति बन्यो ।
दुवै टिमका खेलाडीले खालि पानी कहिले रोकिएर भने पूरा दिन कुर्ने काम मात्र गरे । क्रिकेटमा यसैलाई भनिन्छ, वर्षाको खलनायकी । टेस्ट निराशाजक बराबरीमा टुंगिने निश्चित भएपछि रुट र कोहलीले एकै स्वरमा भने, ‘पानीले सबै मज्जा किरकिरा पारिदियो ।’ साँच्चै वर्षा फेरि एकपल्ट क्रिकेटमाथि हाबी भएको दिन थियो, त्यो ।
–द डेली मेलको सहयोगमा ।