काठमाडौं । जापानमा आयोजना भएको विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद सम्पन्न भएको छ ।
राजधानी टोकियोमा आइतबार आयोजित एक भव्य कार्यक्रमकोबीच 'टोकियो ओलम्पिक' सकिएको हो ।
कोरोना महामारीको बाबजुत आयोजना भएको टोकियो ओलम्पिकमा २ सय ६ देशका ११ हजार ३ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो ।
अब अर्को संस्करणको ओलम्पिक फ्रान्समा आयोजना हुनेछ । सन् २०२४ को ओलम्पिक फ्रान्सको पेरिसमा हुनेछ ।
टोकियो ओलम्पिकमा सर्वाधिक पदक अमेरिकाले जित्यो । ३९ स्वर्ण पदक जितेको अमेरिकाले चीनलाई पछि पार्यो । अमेरिकाले ४२ रजत र ३३ कास्यसहित कुल १ सय १३ पदक हात पार्यो ।
चीनले ३८ स्वर्ण,३२ रजत र १८ कास्य गरि कुल ८८ पदक जितेको हात पार्यो ।
तेस्रो स्थानमा रहेको जापानले २७ स्वर्णसहित १४ रजत र १७ कास्य गरि कुल ५८ पदक जित्यो । जापानको यो ओलम्पिक इतिहासमै उत्कृष्ट नतिजा हो ।
त्यस्तै ग्रेट ब्रिटेन २२ स्वर्णसहित कुल ६५ पदक जितेर चौंथो स्थानमा रहदा रसियन ओलम्पिक कमिटि २० स्वर्णसहित कुल ७१ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।
दक्षिण एसियाली राष्ट्रबाट भारतले १ स्वर्ण पदकसहित कुल ७ पदक जितेको छ ।
टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
तर, सदाझै टोकियो ओलम्पिकमा पनि नेपालको चुनौती सहभागितामै सिमित रह्यो। सहभागी पाँचै खेलाडीले दोस्रो चरणको यात्रा तय गर्न सकेनन् ।
तीन खेलाडीले राष्ट्रिय कीर्तिमान बनाउनु टोकियो ओलम्पिकमा नेपालको उपलब्धि रह्यो । पौडीका गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) तथा सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएका थिए ।