काठमाडौं । जापानमा जारी विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद 'टोकियो ओलम्पिक' आजबाट सकिदैछ ।
टोकियोमा एक विशेष समारोहकोबीच टोकियो ओलम्पिकको समापन हुनेछ ।
टोकियो ओलम्पिकमा २ सय ६ देशका ११ हजार ३ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको छ ।
ओलम्पिकको समापन समारोहमा ओलम्पिकको झण्डा फ्रान्सलाई हस्तान्तरण गरिनेछ । सन् २०२४ को ओलम्पिक फ्रान्सको पेरिसमा हुनेछ ।
ओलम्पिकको अन्तिम दिनको खेल चलिरहदा पदक तालिकामा चीनले आफ्नो अग्रता कायमै राखेको छ । चीनलाई अमेरिकाले पछ्याईरहेको छ ।
आइतबार बिहानसम्म चीनले ३८ स्वर्ण पदकसहित कुल ८७ पदक जितेको छ । दोस्रो स्थानको अमेरिकाले ३६ स्वर्ण पदकसहित कुल १०८ पदक जितेको छ ।
तेस्रो स्थानमा रहेको जापानले २७ स्वर्णसहित कुल ५६ पदक जितेको छ ।
त्यस्तै ग्रेट ब्रिटेन २१ स्वर्णसहित ६४ पदक जितेर चौंथो स्थानमा रहदा रसियन ओलम्पिक कमिटि २० स्वर्णसहित कुल ६९ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।
टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
तर, सदाझै टोकियो ओलम्पिकमा पनि नेपालको चुनौती सहभागितामै सिमित रह्यो। सहभागी पाँचै खेलाडीले दोस्रो चरणको यात्रा तय गर्न सकेनन् ।
तीन खेलाडीले राष्ट्रिय कीर्तिमान बनाउनु टोकियो ओलम्पिकमा नेपालको उपलब्धि रह्यो। पौडीका गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) तथा सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएका थिए ।