टेस्ट राष्ट्र बन्न मेरो सपनाले मात्र पुग्दैन - पारस
.jpg&w=3840&q=75)
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले नेपालले टेस्ट राष्ट्रको मान्यता पाएको हेर्ने आफ्नो सपना रहेको बताएका छन् ।
अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेको दोस्रो दिन आयोजित पत्रकार सम्मेलनमा पारसले टेस्ट मान्यता पाएको हेर्ने सपना कायम रहेको बताएका हुन् ।
अलराउण्डर पारसले मंगलबार बिहान अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए ।
तर, पारसले आफ्नो सपनाले मात्र नेपालले टेस्ट राष्ट्रको मान्यता नपाउने बताए ।
'मेरो सपना हो नेपालले टेस्ट मान्यता पाओस् भन्ने । तर, टेस्ट राष्ट्र पाउन मेरो सपनाले मात्र हुँदैन, टिमको मेहेनतले मात्र हुँदैन,' पारसले भने, 'टेस्ट क्रिकेटका लागि धेरै मेहेनत चाहिन्छ ।'
पारसले नेपाललाई टेस्ट राष्ट्रको मान्यता दिलाउन आफुले फरक भूमिकामा काम गर्ने समेत बताए ।
'अर्को पुस्ता अथवा मेरो जीवनकालमा नेपालले टेस्ट मान्यता पाओस् भन्ने चाहना छ । त्यसका लागि मेरो भूमिकाहरु धेरै हुनसक्छ । त्यो भूमिकामा बाधिन कोशिस गर्ने छु,' उनले भने ।
पारसले सन् २००४ मा आईसीसी अन्तरमहादेशीय कप अन्तर्गत मलेसियाविरुद्धको खेलबाट सिनियर टिममा डेब्यु गरेका थिए ।
३३ वर्षीय पारसले नेपालका लागि १० एकदिवसीय अन्तराष्ट्रिय र ३३ टी-ट्वान्टी अन्तराष्ट्रिय खेल खेलेका छन् ।
नेपाली क्रिकेटका सफल कप्तान पारसले नेपाललाई डिभिजन ५ हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता दिलाउन सफल भए ।
पारसकै कप्तानीमा नेपालले टी-ट्वान्टी विश्वकप खेलेको थियो । सन् २०१४ मा बंगलादेशमा भएको टी-ट्वान्टी विश्वकपमा नेपालले प्रतिस्पर्धा गरेको थियो ।










-1762856022963.jpg&w=3840&q=75)




