काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले क्रिकेटमा आफ्नो भूमिकामात्र बदिलिने बताएका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पारसले क्रिकेटबाट आफु नटाढिएको बताए ।
‘क्रिकेटबाट टाढा भएको हैन । क्रिकेटसंगै रहन्छु । भूमिकामात्र बदलिनेछ ।’ पारसले भने ।
मंगलबार बिहान पारसले अन्तराष्ट्रिय क्रिकेट करियरबाट विश्राम लिने निर्णय गरेका थिए ।
उनले दुई वर्षअघिनै सन्यासको विषयमा सोचेको भएपनि टिमलाई सहयोग गर्नमात्र राष्ट्रिय टिममा बसेको बताए ।
‘दुई वर्षअघिनै सन्यासबारे सोचेको थिए । तर टिमलाई सहयोग गर्न पर्छ भनेर बसेको थिए । दुई वर्ष पूरा भएपछि छाडेको हुँ ।’ उनले भने ।
पारसले कप्तान र खेलाडीको रुपमा आफुले गर्न सक्ने योगदान राष्ट्रिय टिमबाट पुरा गरेको बताए । उनले आफ्नो इच्छा क्रिकेट व्यवस्थापनमा रहेको उल्लेख गर्दै अन्तराष्ट्रिय क्रिकेटलाई बिट मारेको बताए ।
'क्रिकेटमा मैले पार्न सक्ने प्रभाव यतिनै थियो जस्तो लाग्छ । मेरो इच्छा व्यवस्थापनमा छ ।' उनले भने, 'पारसले गर्दामात्र नेपाली क्रिकेट यहाँसम्म आएको हैन । अन्य धेरै खेलाडी छन् । पुराना धेरै खेलाडीको योगदान छ ।'
उनले एकदिवसीय मान्यतालाई अहिले जोगाइराख्ने चुनौती नेपाली क्रिकेट सामु रहेको बताए । ‘एकदिवसीय मान्यता जोगाई राख्न ठुलो चुनौती छ । यसलाई जोगाई राख्नुनै ठुला कुरा हुनेछ ।’ उनले भने ।
पूर्व कप्तान पारसले केही समयमै क्रिकेट एकेडेमीको सुरुवात गरेर देशभर लैजाने योजना रहेको सुनाए ।
उनले घरेलु क्रिकेटमा भने आफु देखिन सक्ने उल्लेख गरे ।
‘नेपाली क्रिकेटको जुन गति छ, त्यो कायम रहोस भन्ने छ । अहिलेको टिमले नेपाली क्रिकेटलाई अघि बढाउनेछ । टिमले सधै जितोस भनेर प्राथना गर्नेछु ।’ उनले थपे ।