काठमाडौं । पारस खड्काले मंगलबार बिहानै अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे । कप्तान र खेलाडीको रुपमा नेपाललाई डिभिजन फोर हुँदै विश्वकपसम्म डोर्याएका पारस नेपाली खेलकुदकै ‘पोस्टर’ ब्वाय बने ।
झण्डै डेढ वर्षअघि क्यानमा नयाँ कार्यसमिति आएपछि पारसले कप्तानबाट राजीनामा दिएका थिए । पुरानै व्यवस्थापकहरु क्रिकेटको नेतृत्वमा फर्किएपछि निराश बनेका पारसले कप्तान छाडेका थिए । मंगलबार बिहानै उनले अन्तराष्ट्रिय क्रिकेटबाट बिदा लिने निर्णय गरे । क्यानसंगको दुरी कम नभएपछि उनले सक्रिय क्रिकेट त्याग्ने निर्णय लिए ।
‘जसरी मैले खेल मैदानभित्र लामो समयदेखि क्रिकेट खेलिरहेको थिए । कुनै न कुनै रुपमा क्रिकेटको व्यवस्थापनमा जोडिन लक्ष्य लिएर अघि बढेको छु । अन्तराष्ट्रिय क्रिकेट छाडेपछि सिस्टम बनाउनतर्फ लाग्न कोशिश गर्नेछु ।’ सन्यासपछि पारसले बीसीसी नेपालीसंग भनेका छन् ।
पारसले प्रष्ट रुपमा क्रिकेटको व्यवस्थापकको रुपमा फर्कने बताएका छन् । उनी क्यानको आसन्न चुनावमा केन्द्रित हुन चाहन्छन् । क्यानको चुनाव आउन दुई वर्ष बाँकी छ । क्रिकेट संघको राजनीतिमा आउन समेत अन्तराष्ट्रिय क्रिकेट छाडेको दुई वर्ष पुग्नुपर्ने नियम छ । क्यानको सोही विधानको हिसाबकिताब हेरेर पारसले सन्यासको घोषणा गरेको बुझ्न गाह्रो छैन ।
क्यानको पछिल्लो चुनावमै पारस लगायतको टिमले आफु अनुकुलको नेतृत्वको प्रयास गरेको थियो । विनयराज पाण्डे नेतृत्वको प्यानलको जितका लागि पारस लगायतको टिमले निकै प्रयास गरेको थियो । तर नतिजा अनुकुल आएन ।
महासचिवको उम्मेदवार बनेका प्रदेश नम्बर एकबाट मिङ्गमा डन्डु शेर्पा बाहेक अन्य कुनै पदाधिकारी बलिया देखिएनन् । त्यसपछि क्यानप्रति पारसको मन कुँडिएको थियो । त्यसको जवाफ उनले कप्तानबाट राजीनामा दिएर गरेका थिए ।
सन्यासको घोषणासंगै पारस क्रिकेटको खुल्ला राजनीतिमा प्रवेश गरेका छन् । पारसले एक्लै कतिपय हार्ने खेलपनि जिताएका छन् । कप्तानी भुमिकामा आफुलाई प्रमाणित गरेर नेपाललाई टी–ट्वान्टी विश्वकप हुँदै एक दिवसीय मान्यतासम्म दिलाए । तर खेलकुदको राजनीतिमा पारसको एक्लो कोशिशले पुग्ने छैन । बीबीसीसंग उनले भनेका छन्, ‘एक्लै परिवर्तन सम्भव छैन । संस्थागत परिवर्तनका लागि सबैको शक्ति आवश्यक छ ।’
शानदार खेलाडी जिवनको टुङ्गो लगाएका पारसमाथि गम्भिर आरोपपनि छन् । राष्ट्रिय टिममा गुट बनाउनेदेखि क्रिकेट खराब राजनीति गर्ने र स्वार्थ बाँझिने काममा संलग्न भएका आरोप उनीमाथि लाग्ने गरेका छन् । सिमित घेरा र समुहमा रमाउने स्वभावमा परिवर्तन आए क्रिकेटको खुल्ला राजनीतिमा पारसको दोस्रो इनिङ्स अझ शानदार रहन सक्छ ।