काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले पूर्व कप्तान पारस खड्काको सन्यासलाई अप्रत्याशित बताएका छन् ।
राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान खड्काले मंगलबार सामाजिक सञ्जालमार्फत अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका थिए ।
क्यान अध्यक्ष चन्दले देशका लागि खेलेको र समय पनि अझै भएको खेलाडीले अचानक सन्यास लिनु राम्रो नदेखिएको बताए ।
‘सन्यासलाई अप्रत्याशित रुपमा लिएको छु । देशका लागि पनि खेलेको र समय पनि भएको खेलाडीले अचानक सन्यास लिनु क्रिकेट र देशका लागि राम्रो देखिएन ।’ चन्दले खेलपाटीसंग भने ।
उनले विश्वकप छनोटको तयारीमा रहेको नेपालका लागि पुर्व कप्तानको निर्णय आश्चार्यजनक रहेको बताए ।
‘विश्वकप छनोटको चेनमा खेलिरहको पुर्वसन्ध्यामा लिएको निर्णयले आश्चार्य लागेको छ । धैरै चाँडो सन्यास लिएको जस्तो देखियो ।’ चन्दले भने ।
‘संघसंग पनि केही कुरा भएन । निर्णय अघि कुरा भएको भए केही फरक परिस्थिती बन्थ्यो होला ।’ उनले थपे ।
क्यानको वर्तमान नेतृत्वले निर्वाचन जित्ने वित्तिकै खड्काले राष्ट्रिय टिमको कप्तान पद छाडेका थिए । क्यानको वर्तमान कार्यसमिति आएको दुई वर्ष नपुग्दै खड्काले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।