काठमाडौं । इंग्ल्यान्डले भारतसँग पाँच टेस्टको सिरिज खेल्दैछ र यसको पहिलो खेल हुनेछ, बुधबारदेखि । पहिलो टेस्ट ट्रेन्ट ब्रिजमा हुनेछ ।
यसअघि इंग्ल्यान्ड भारतमा आएको थियो र त्यहाँ जोए रुटको टिम ३–१ ले पराजित भएको थियो । इंग्ल्यान्ड अहिले त्यसकै बदला लिने पक्षमा रहनेछ ।
यो सिरिजमा निर्णायक हुन सक्नेछन्, केही तत्व । यी पाँच तत्व के के हुन् त ?
१. कोहलीको लय
विश्व क्रिकेटका सबैभन्दा राम्रो ब्याट्सम्यानमा पर्छन्, भारतीय कप्तान विराट कोहली । उनले अन्तिम पटक इंग्ल्यान्ड भ्रमण गर्दा प्रभावशाली ५ सय ९३ रन बनाएका थिए । पछिल्लो समय उनको लय भने केही खस्केको छ । पछिल्ला आठ टेस्टमा उनले ३ सय ४५ रन मात्र बनाएका छन् । उनको प्रदर्शन यसपल्ट कस्तो हुनेछ त ? त्यसले सिरिजमा धेरै फरक पार्नेछ ।
२. स्टोक्सको अनुपस्थिति
इंग्ल्यान्डका सबैभन्दा उत्कृष्ट खेलाडी भने यसपल्टको सिरिजमा हुने छैनन् र उनी हुन्, बेन स्टोक्स । उनले सबै खाले क्रिकेटबाट अनिश्चित समयका लागि विश्राम लिएका छन् । उनी बल र ब्याट दुवैबाट चम्कने खेलाडी हुन् । यस्तोमा उनको अनुपस्थिति इंग्ल्यान्डका लागि ठूलो घाटा हो, त्यहीं भारतका लागि भने फाइदा ।
३. इंग्ल्यान्डको कमजोर माथिल्लो क्रम
इंग्लिस टिमको सबैभन्दा ठूलो कमजोरी अहिले केही छ भने त्यो माथिल्लो कमजोर ब्याटिङक्रम नै हो । त्यसो त कप्तान रुट आफै केही लयमा छन्, तर उनलाई अर्को छेउबाट सहयोग गर्ने खालका कोही ब्याट्सम्यान छैनन् । रोय बर्नस, डब सिबली, ज्याक क्रली र ओली पप कसैले पनि राम्रोसँग रन बटुलिरहेका छैनन् ।
४. आराम हुने छैन्
सिरिज पाँच टेस्टको रहेको छ, तर यो जम्मा जम्मी ४२ दिनभित्र खेलिनेछ । यसले दुवै टिमका खेलाडीलाई प्रभावित पार्न सक्नेछ, विशेषत: खेलाडीले थकान महसुस गर्न सक्नेछन् । यो स्थितिमा खेलाडी शारीरिक मात्र होइन, मानसिक रूपमा पनि बलियो हुनु पर्नेछ । अझ डर त खेलाडी चोटग्रस्त होला भन्नेमा पनि छ ।
५. घरेलु मैदानको फाइदा
सन् २००७ यता भारतले इंग्लिस भूमिका टेस्ट सिरिज जितेको छद्धैन् । सन् २०११ र २०१८ मा भारत इंग्ल्यान्ड आएको थियो र दुवै अवसरमा पाहुना टिम नराम्रोसँग पराजित रह्यो । त्यति बेला सिरिजको स्थिति थियो, ४–० र ४–१ । यस्तोमा इंग्ल्यान्डलाई यसपल्ट पनि घरेलु मैदानको फाइदा प्राप्त हुनेछ । भारतको लक्ष्य भने यो भ्रम तोड्ने नै हुनेछ ।
–एएफपीको सहयोगमा ।