एजेन्सी । घरेलु टिम श्रीलंकाले भारतविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज जितेको छ ।
कोलम्बोमा बिहीबार भएको तेस्रो तथा अन्तिम खेलमा भारतलाई ७ विकेटले पराजित गर्दै श्रीलंकाले सिरिज २-१ ले आफ्नो बनाएको हो ।
भारतले दिएको ८२ रनको सामान्य लक्ष्य श्रीलंकाले १४ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।
श्रीलंकाको जितमा धनन्जय डी सिल्भाले अविजित रहदै २३ रन बनाए । वानिन्दु हसरंगा १४ रनमा अविजित रहे ।
यस्तै मिनोद भानुकाले १८ रन जोड्दा अभिष्का फर्नान्डोले १२ रन बनाए । सादिरा राशेन ६ रनमा आउट भए ।
भारतका राहुल चाहरले ३ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर ८१ रन बनाएको थियो।
भारतका लागि कुलदिप यादवले अविजित रहदै २३ रन बनाए । भुवनेश्वर कुमारले १६ रन जोड्दा रुतुराज गायकवाडले १४ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
भारतलाई सस्तैमा समेट्न श्रीलंकाका वानिन्दु हसरंगाले ४ विकेट लिए । डसुन शनकाको नाममा २ विकेट रह्यो।