काठमाडौं । प्रदेश नम्बर २ क्रिकेट संघले कीर्तिमानी क्रिकेट खेलाडी महबुब आलमको बिदाइ भव्यताका साथ गर्न नेपाल क्रिकेट संघ (क्यान) सँग माग गरेको छ ।
महोतरीको वर्दिवासमा बिहीबार बसेको संघको बैठकले महबुबको बिदाइ भव्य बनाउन क्यानसँग माग गर्ने निर्णय गरेको हो ।
गिनिज बुकमा नाम लेखाउन सफल महबुबले निकट भविष्यमा नै सन्यास घोषणा गर्ने जानकारी गराएको कारण क्यानसँग उक्त माग गर्ने निर्णय गरिएको संघले जनाएको छ ।
अलराउण्डर महबुबले सन् २००८ मा मोजाम्बिकविरुद्ध एकै खेलमा १० विकेट लिँदै कीर्तिमान कायम गरेका थिए ।
क्यानका कोषाध्यक्ष एवं प्रदेश क्रिकेट संघ प्रदेश २ को सदस्य रोशन सिंहको आथित्यमा बसेको बैठकले महबुबको बिदाइसहित विभिन्न १५ वटा निर्णय गरिएको संघका सचिव आयुश श्रेष्ठले जानकारी गराए ।
बैठकले प्रदेशका खेलाडीहरुको स्वास्थ्य र जीवनलाई ध्यानमा राख्दै प्रदेशका खेलाडीको ५ लाख बराबरको बीमा गर्न आकाश पाण्डेयलाई संयोजक तोकिएको छ । उनले पेश गरेको प्रतिवेदनको आधारमा खेलाडीहरुको बीमा प्रकृया अघि बढाईने संघले निर्णय गरेको छ ।
बैठकले महिला राष्ट्रिय खेलाडी शोभा आलेलाई कार्यालय सचिवको रुपमा नियुक्त गर्ने समेत निर्णय गरेको छ । प्रदेश क्रिकेट संघको सुबिधा सम्पन्न कार्यालय बर्दिवासमा राखि साउन २९ गतेबाट नियमित रुपमा संचालन गर्ने समेत निर्णय गरेको छ ।
त्यसै गरि हालै निधन भएका कुन्दन सिंहको बचाउ अभियान अन्तर्गत बचत भएका रकमलाई स्व. कुन्दन सिंह अक्षय कोष खडा गर्दै प्रदेश २ क खेलाडीहरुको स्वास्थ्य उपचारमा खर्च गर्ने समेत निर्णय गरिएको छ ।
प्रदेश २ का टोलीको प्रर्दशनलाई गम्भिर रुपमा लिई आगामी दिनमा बन्द शिविरको आयोजना प्रतियोगिता संचालन हुने स्थानमा नै गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश २ का अम्पाएर तथा स्कोर तालिम भदौको दोस्रो साता सप्तरीको राजबिराजमा संचालन गर्ने, पिच क्युरेटरको माँग, प्रदेश संघको आर्थिक अवस्थामा सुदृढिकरण गर्न कोषाध्यक्ष पवन कुमार गुप्ताको संयोजकत्वमा अध्यक्षसंगको समन्वयमा जिम्मेवारी दिईने, जनवरी २०२० देखि डिसेम्बर २०२० सम्मको खर्चको अनुमोदन, उपाध्यक्ष सुनिल महासेठको संयोजकत्वमा सदस्यद्धय निरज कार्कि र आकाश पाण्डेय रहने गरि प्रतियोगिता संचालन समिति गठन गठन गर्दै सल्लाहकारमा धनुषा जिल्ला क्रिकेट संघका पूर्व अध्यक्ष शिव नारायण झालाई मनोनयन गर्ने समेत निर्णय गरेको छ।
बैठकले संघको बार्षिक साधारण सभा निकट भविष्यमा नै गर्न प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्लाहरुलाई पत्राचार गरि नामावली माँग गर्ने निर्णय गरिएको छ ।