काठमाडौं । पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले पहिलो पटक नेपालमा खेल्न आफु उत्साहित भएको बताएका छन् ।
चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटका लागि काठमाडौं किङ्स-११ मा आबद्द भएका पहिलो पटक नेपालमा खेल्न उत्साहित भएको बताएका हुन् ।
'काठमाडौं मेरो पहिलो भ्रमण हुनेछ । म निकै उत्साहित छु,' काठमाडौंले आयोजना गरेको कार्यक्रममा अफ्रिदीले अनलाइन भिडियोमार्फत भने ।
काठमाडौंले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अफ्रिदीले ईपीएल खेल्ने जानकारी गराएको हो । उक्त कार्यक्रममा अफ्रिदी भिडियो लाईभबाट उपस्थित भएका थिए ।
अफ्रिदीले नेपाली क्रिकेटबारे जानकारी नरहेको समेत बताए ।
' इमान्दारीपूर्वक भन्नु पर्दा मलाई केहि थाहा छैन । तर, मलाई थाहा छ मानिसहरु क्रिकेट मन पराउछन्,' उनले भने ।
चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।
अफ्रिदीले पाकिस्तानका लागि सन् १९९६ देखि २०१८ सम्म खेलेका थिए ।
उनले पाकिस्तानका लागि २७ टेष्टमा १७ सय १६ रन र ४८ विकेट हात पारेका थिए ।
अफ्रिदीले ३ सय ९८ एकदिवसीयमा ८ हजार ६४ रन बनाउँदा ३ सय ९५ विकेट र टी-ट्वान्टीमा ९९ खेल खेल्दै १४ सय १६ रन र ९८ विकेट लिएका थिए ।