काठमाडौं । फुटबल नेपालको खेल हैन, तर नेपालीहरु फुटबललाई औधी माया गर्छन् ।
फुटबलमा नयाँ प्रशिक्षक आएका छन्, अब्दुल्लाहा अलमुताइरी ।
धेरै फुटबल प्रशंसक अलमुताइरीलाई पनि माया गर्छन् । किनकी नेपालीहरु फुटबललाई प्रेम गर्छन् । अलमुताइरी अहिलेका लागि नेपाली फुटबलको एउटा हिस्सा हुन् । ‘साइकोलोजी’का विद्यार्थी अलमुताइरीले पनि यो बुझेका छन् ।
आइतबार दिनभर अलमुताइरी चर्चामा रहे । उनले समाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका थिए । अलमुताइरीले वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण राजीनामा दिन लागेको कारण खुलाए । दिनभर सामाजिक सञ्जाल अलमुताइरीको राजीनामामा केन्द्रित भयो । अलमुताइरीले आरोपित गरेका पंकज नेम्वाङलाई धेरैले ‘भिलेन’ बनाए ।
आइतबारको सारा घटना एउटा फेसबुक स्टाटसबाट सुरु हुन्छ । सामाजिक सञ्जालमा आफु लक्षित एक स्टाटसमा पंकजको ‘रियाक्ट’ देखेपछि अलमुताइरीले बौरिन्छन्, र तत्काल राजीनामाको घोषणा गर्छन् । आफुविरुद्ध वरिष्ठ उपाध्यक्ष लागेको निष्कर्ष सहित अलमुताइरीले राजीनामा दिएका हुन् । राजीनामा घोषणा गरेर एन्फा पुगेका अलमुताइरीले सोही कुरा भनेका थिए ।
‘तिमीहरुको राजनीतिसंग मलाई कुनै सरोकार छैन । तर मलाई विवादमा ल्याउने काम नगर । म यहाँ फुटबलका लागि आएको हुँ । मविरुद्ध मान्छे उचाल्ने र विवादमा ल्याउने काम नगर ।’ अलमुताइरीले एन्फाका पदाधिकारी समक्ष भनेका थिए ।
एन्फाको राजनीतिमा प्रष्ट दुई धार देखिन्छ । अध्यक्ष कर्माछिरिङ नेतृत्वमा चुनाव जितेर आएका पंकज वर्तमान टिमबाट अलग भएका छन् । केन्द्रिय सदस्य दावा लामासहित अलग भएका पंकजसंग वर्तमान नेतृत्वसंग असन्तुष्ट केही पदाधिकारी थपिएका छन् । पछिल्लो समय उपाध्यक्षद्धय वीरबहादुर थापा र कृष्ण थापा नेम्वाङको टिममा थपिएका छन् । दुवै धारबीच परिवर्तनको ‘मसिहा’ को बन्ने ? भन्नेमा चर्को प्रतिस्पर्धा छ । एकले अर्कोलाई सिध्याउन जुनसुकै हदसम्म जाने गतिविधिमा दुवै पक्ष उद्यत देखिन्छन् । त्यसकै ‘घान’मा वर्तमान प्रशिक्षक अलमुताइरी परेका छन् ।
हरेक सत्तामा पक्ष हुन्छ्, प्रतिपक्ष हुन्छ । यतिबेला फुटबलको सत्तामा कर्मा छन् । नेम्वाङ प्रतिपक्ष बनेका छन् । सत्ताको विरोध गर्नु प्रतिपक्षको धर्म हो । प्रतिपक्षको विरोधले सत्ता पक्षलाई सही बाटोमा हिड्न दबाब पनि सिर्जना गर्छ । तर नेपाली फुटबलमा विरोधको राजनीति नराम्रोसंग फैलिएको छ । विरोधका लागि विरोधले एन्फामात्र हैन, फुटबललाई समेत बदनाम बनाएको छ । विरोध गरेरै सत्तामा पुगिन्छ भन्ने नयाँ ‘भाष्य’ फुटबलमा स्थापित बनाउन खोजिदैछ, जुन खतरनाक छ ।
प्रशिक्षक अलमुताइरीको राजीनामाको मुख्य कारण एन्फा अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङबीचको अन्तरविरोध हो । यहीँ अन्तरविरोधमा एन्फाभित्र अवसरवादी र भ्रष्टहरुले खेल्न पाएका छन् । अलमुताइरीको राजीनामा प्रकरण शेर्पाविरुद्ध नेम्वाङलाई उचाल्ने र नेम्वाङविरुद्ध अलमुताइरी उचाल्ने घटनाको पटाक्षप मात्र हो ।
अलमुताइरीको राजीनामाले वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गको फुटबलको राजनीतिक जीवनमा गम्भिर धक्का लागेको छ । एन्फा अध्यक्षविरुद्ध आक्रमक तरिकाले प्रस्तुत भइरहेका नेम्वाङ्गमाथि प्रशिक्षक प्रकरणले ‘ब्याकफायर’ गरेको छ । प्रशिक्षकको राजीनामाले एन्फाको आसन्न निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका नेम्वाङको सामाजिक र राजनीतिक प्रतिष्ठामा गम्भिर चोट लागेको छ ।
अर्कोतर्फ, अलमुताइरीका आफ्नै समस्या छन् । उनी फुटबलमा जति प्रतिबद्ध छन्, व्यवहारमा उतिनै अपरिपक्क छन् । अलमुताइरी आफुलाई साइकोलोजी र पत्रकारिताको विद्यार्थीको रुपमा प्रस्तुत गर्छन् । खेलाडीमाझ साइकोलोजीको प्रभाव छाडेका छन् । तर व्यवहारमा सधै कच्चा रुपमा प्रस्तुत भए । कतार फुटबल संघको सहयोगमा अलमुताइरी नेपाल आएका हुन् । उनी सामान्य विषयमा समेत राजीनामाको धम्की दिदै आएका थिए । यसपटक उनले फेसबुकबाटै राजीनामा दिने घोषणा गरे । तर औपचारिक राजीनामाको पत्र एन्फामा दिएका छैनन् । उनले राजीनामालाई एउटा ‘स्टन्ट’को रुपमा प्रस्तुत गरे ।
अलमुताइरीको नेपाली मिडियासंग सधै टाढाको सम्बन्ध रह्यो । खेलकुदका पत्रकारसंग उनको सधै प्रतिशोधपूर्ण व्यवहार देखियो । उनको ‘वान टिम’भित्र कहिल्यै नेपालको मिडिया परेन । सामाजिक सञ्जालमार्फत उनले नेपाली खेलकुदसंग अन्तरक्रिया गर्न खोजे । जनमत बनाउन जुटे । खेलाडीलाई मिडियाबाट टाढा राखे । मिडियाविरुद्ध उस्काउने काम गरे । सामाजिक सञ्जालको लोकप्रियताको बलमा आफै हरेक विषयमा ‘डिल’ गर्न खोजे । तर कतैपनि जिम्मेवार बन्न खोजेनन् । भिडकै पछि लागे । भिडलाई आधिकारिक माने । भिडमा उत्तेजना हुन्छ, विवेक हुदैन । अलमुताइरीले बुझेनन् ।
आइतबारको ‘स्टाटस’ त्यसकै परिणाम हो ।
भिडको उत्तेजनाले तत्काललाई अलमुताइरीलाई राहत दिएपनि विवेकको प्रश्नले उनलाई लखेटिरहनेछ । राष्ट्रिय टिमको प्रशिक्षकको सम्बन्धित देश र पदाधिकारीसंग थुप्रै असन्तुष्टि हुन्छन् । तर सामाजिक सञ्जालमा एन्फाका वरिष्ठ उपाध्यक्षलाई दोषारोपण गरेर जसरी उनले राजीनामा प्रस्तुत गरेका छन्, यो ‘प्रो लाइसेन्स कोच’बाटको सबैभन्दा अपरिपक्क व्यवहार हो ।
एन्फा उनका लागि टाढा थिएन । एन्फाका पदाधिकारी उनीभन्दा टाढा थिएनन् । असन्तुष्टि राख्ने धेरै ‘फोरम’ उनीसंग सुरक्षितनै थिए । तर फुटबल राजनीतिमा संलग्न एक पदाधिकारीमाथि आक्रोशपूर्ण जुन स्टाटसको ‘स्टन्ट’ अलमुताइरीले गरेका छन्, त्यो क्षमा योग्य छैन । एन्फाको घृषित राजनीतिमा अलमुताइरी जवर्जस्त मुछिएका छन् । प्रशिक्षकको रुपमा फुटबलका प्रशंसकबाट सहानुभूती लुट्न र त्यो सहानुभूतीलाई आफु अनुकुल प्रयोग गर्ने अलमुताइरी ‘स्टन्ट’को पर्दाफास भएको छ ।
मुख्य प्रशिक्षक अलमुताइरीद्वारा राजीनामा दिने घोषणा
ममाथि षडयन्त्र भयो - वरिष्ठ उपाध्यक्ष नेम्बाङ
राजीनामा फिर्ता लिन अलमुताइरीलाई एन्फाको आग्रह