एजेन्सी । घरेलु टिम जिम्बावेले दोस्रो टी-ट्वान्टी क्रिकेटमा बंगलादेशलाई पराजित गरेको छ ।
हरारेमा शुक्रबार भएको खेलमा जिम्बावेले बंगलादेशलाई २३ रनले पराजित गरेको हो ।
यस जितसँगै जिम्बावेले तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो खेलमा बंगलादेशले जिम्बावेलाई ८ विकेटले पराजित गरेको थियो ।
जिम्बावेले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४३ रन मात्र बनाउन सक्यो ।
बंगलादेशका शामिम होसेनले २९ रन जोड्दा अफिफ होसेनले २४ रन बनाए । मोहमद सैफुदीन १९ रनमा आउट हुँदा मेहदी हसन १५ रन बनाएर आउट भए ।
जिम्बावेका लुक जङ्वे र विलिङटन मासाकाड्जाले ३/३ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो ।
जिम्बावेका लागि वेस्ली माधिभिरेले ७३ रनको अर्धशतकीय इनिङ्स खेले । रायन ब्रुलले अविजित ३४ रन जोड्दा डियोन मेयर्सले २६ रन बनाए ।
बंगलादेशका इस्लामले ३ विकेट लिए ।