एजेन्सी । इंग्लिस क्रिकेटले बुधबार नयाँ दिशा लियो । यो यस्तो दिशा हो, जसको भविष्य के हुनेछ, कसैलाई थाहा छैन् ।
क्रिकेटको कान्छो स्वरूप हन्ड्रेड बुधबार पहिलो पल्ट लन्डनको ओभलमा खेलियो ।
यो महिलातर्फको खेल रह्यो । त्यसमा ओभल इन्भिजिबल्सले म्यानचेस्टर ओरिजिनल्सलाई पाँच विकेटले हरायो ।
क्रिकेटको यो यस्तो ढाँचा हो, जसलाई सर्वथा नयाँ ढाँचा भन्न सकिन्छ, जसमा प्रत्येक इनिङ्स ठ्याक्कै सय बलको हुने गर्छ ।
क्रिकेट खेलको इतिहास आफैमा पुरानो छ र अहिलेसम्म अन्तर्राष्ट्रिय तथा राष्ट्रिय क्रिकेटका तीन स्वरूप छन् । पहिलो प्रथम श्रेणीको क्रिकेट भयो, यसमा पाँच दिनको टेस्ट पनि पर्छ । त्यसपछि ५० ओभरको वान डे भयो ।
अनि ट्वान्टी ट्वान्टी क्रिकेट । त्यो त इंग्ल्यान्डमा ट्वान्टी ट्वान्टी क्रिकेटको व्यवसायिक प्रतियोगिता पनि हुने गरेको छ ।
तर इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डलाई के लाग्यो भने ट्वान्टी ट्वान्टी क्रिकेट भन्दा पनि छोटो खेलको आवश्यक छ ।
यसको एक मात्र उद्देश्य हो, क्रिकेटलाई अझ आकर्षित बनाउने । अनि यसै क्रममा युवा नयाँ पुस्तालाई आकर्षित गर्ने ।
यसले छ बलको पारम्परिक ओभर नियमलाई त्यागेको छ । प्रत्येक १० बलपछि बलिङ–एन्ड परिवर्तन हुनेछ । कोही पनि बलरले पाँचदेखि १० बल लगातार बलिङ गर्न पाउने छन् ।
एक बलरले बढीमा २० बलको कोटा पाउने छन् । एउटा खेल बढीमा साढे दुई घण्टाको हुनेछ ।
यो हन्ड्रेडसँगै इंग्लिस क्रिकेटमा एउटा अर्को ठूलो परिवर्तन पनि भएको छ । र, यो हो, यो प्रतियोगितामा १८ मध्ये कुनै पनि काउन्टी टिमको सहभागिता रहेको छैन् ।
बरू यसको स्थानमा नयाँ आठ टिम बनाइएको छ । यो फ्रान्चाइज टिम नै हुन् । प्रत्येकमा महिला र पुरुषको अलग अलग टिम हुनेछ ।
प्रतियोगिता एक वर्ष अगाडि नै हुनु पर्ने हो, तर कोरोना भाइरस संक्रमणको महामारीका कारण यस पल्ट मात्र हुन लागेको छ ।
–एएफपीको सहयोगमा ।