काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेको स्थानमा दक्षिण अफ्रीकाका ताबरेज शम्सीले द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।
इंग्ल्यान्डमा आयोजना हुने द हन्ड्रेड क्रिकेट टिम ओभल इन्भिन्सिबलले सन्दीपको स्थानमा शम्सीलाई टिममा अनुबन्ध गरेको छ ।
भिसा समस्याको कारण सन्दीपले द हन्ड्रेड खेल्न नपाएपछि इन्भिन्सिबलले शम्सीलाई भित्र्याएको हो ।
सन्दीपले टिएर ५ भिसा पाएपनि प्रतियोगिता खेल्नको लागि अनुमति नपाएका हुन् ।
सन्दीप पहिलो संस्करणको प्रतियोगिताका लागि इंग्ल्यान्ड समेत पुगिसकेका थिए । उनको क्वारेन्टिन अवधि समेत सकिएको थियो ।
१०० बलको हुने प्रतियोगिता बिहीबारबाट सुरु हुने तालिका रहेको छ ।
पहिलो खेलमा इन्भिन्सिबल र म्यानचेस्टर ओरिजिनल्सबीच खेल हुनेछ ।
भिसाकै कारण सन्दीपले यस अघि भाइटालिटी टी-ट्वान्टी ब्लास्ट क्रिकेट गुमाएका थिए ।
त्यस प्रतियोगिताका लागि सन्दीप वोर्सेस्टरशायर र्यापिड्समा अनुबन्धित भएका थिए ।