काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटले अष्ट्रेलियाको मारोन मिडियालाई 'अन्तराष्ट्रिय सेल्स एजेन्ट' को रुपमा सम्झौता गरेको छ ।
ईपीएलले मंगलबार एक विज्ञप्ति निकाल्दै चौंथो संस्करणको प्रतियोगिताका लागि मारोन मिडियासँग अन्तराष्ट्रिय सेल्स एजेन्टको रुपमा सम्झौता गरिएको जनाएको छ ।
सम्झौतासँगै मारोनले ईपीएलको अन्तराष्ट्रिय मिडिया अधिकार पाएको छ । यस्तै चौंथो संस्करणको ईपीएल मारोनले अन्तराष्ट्रिय स्तरमा प्रत्यक्ष प्रशारण गर्नेछ ।
'हामी एभरेष्ट प्रिमियर लिगसँग सम्झौता गर्न पाउदा खुसी छौँ,' सम्झौतापछि मारोनका सह-संस्थापक लारा रिचर्ड्सले भनिन् ।
'यो गर्वको कुरा हो । ईपीएलको यो संस्करण विश्वभर प्रसारित हुनेछ,' ईपीएलका एमडी आमिर अख्तरले भनेका छन् ।
चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म हुनेछ ।
प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।
साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन् ।