काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालमा कुनैपनि विदेशी लिग संचालनको लागि स्वीकृति नदिएको जनाएको छ ।
क्यानले शुक्रबार एक विज्ञप्तिबाट संचारमाध्यममा आएको समाचारको खण्डन गर्दै विदेशी लिगको लागि संघले कुनैपनि अनुमति नदिएको जनाएको छ।
'विगत केही दिन यता केही अनलाइन न्युज पोर्टल, सामाजिक सञ्जालहरूमा व्याप्त नेपालमा विदेशी लिग सञ्चालन गरिँदै भन्ने खालको समाचारप्रति नेपाल क्रिकेट संघको गम्भीर ध्यानाकर्षण भएको छ,' क्यानको विज्ञप्तिमा भनिएको छ, 'संघले तत्कालको लागि कुनै पनि विदेशी लिगको लागि अप्रुभल (स्याङ्क्सनड) नदिएको जानकारी गराउन चाहन्छौ । संघबाट डिसअप्रुभड क्रिकेट प्रतियोगिताहरू सञ्चालन गर्न नमिल्ने ब्यहोरा जनाउन चाहन्छौ ।'
क्यानले खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई संघको स्वीकृति बिना आयोजना हुने प्रतियोगितामा भाग नलिन समेत आग्रह गरेको छ ।
'संघको स्वीकृति नलिएर नेपाल अधिराज्यभर आयोजना गरिने कुनै पनि क्रिकेट प्रतियोगिताहरूमा संघ मातहतका प्रदेश एवं जिल्ला क्रिकेट संघहरु, खेलाडीहरू, पदाधिकारीहरू, प्राविधिक अफिसियलहरु र अन्य क्रिकेट सम्बद्ध व्यक्तिहरू वा संस्थाहरूलाई संलग्नता नजनाउन यसै सूचना मार्फत संघ हार्दिक अनुरोध गर्दछ,' विज्ञप्तिमा भनिएको छ ।