एजेन्सी । घरेलु टिम इंग्ल्यान्डले पाकिस्तानविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ ।
लर्ड्समा शनिबार भएको दोस्रो एकदिवसीयमा पाकिस्तानलाई ५२ रनले पराजित गर्दै इंग्ल्यान्डले एक खेल अगाबै सिरिज जितेको हो ।
यस जितसँगै इंग्ल्यान्डले सिरिजमा २-० को अग्रता समेत बनाएको छ । दुई टिमबीचको अन्तिम तथा तेस्रो एकदिवसीय मंगलबार हुनेछ ।
इंग्ल्यान्डले दिएको २ सय ४८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तान ४१ ओभरमा अलआउट हुँदै १ सय ९५ रनमा समेटियो ।
पाकिस्तानका लागि साउद शकिलले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै हसन अलीले ३१ रन जोड्दा शादब खान २१ रनमा आउट भए । शहिन साह अफ्रिदी १८ रनमा अविजित रहे ।
इंग्ल्यान्डका लेविस ग्रेगोरीले ३ विकेट लिए । क्रेग ओभर्टन, सकिब मोहमुद र माट पार्किनसनले २/२ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ४५ ओभर २ बलमा अलआउट हुँदै २ सय ४७ रन बनाएको थियो ।
इंग्ल्यान्डका लागि फिल साल्टले ६० रनको अर्धशतकीय इनिङ्स खेले । जेम्स भिन्सले ५६ रनको अर्धशतकीय इनिङ्स खेल्दा लेविस ग्रेगोरीले ४० रन बनाए ।
ब्रेडोन कार्सेले ३१ रन जोडे भने कप्तान बेन स्टोक्स २२ रनमा आउट भए ।
पाकिस्तानका हसन अलीले ५ विकेट लिए । हरिस राउफले २ विकेट लिए ।