इंग्ल्यान्ड एफएलाई ३० हजार युरो जरिवाना
एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले इंग्ल्यान्ड एफएलाई जरिवाना गरेको छ ।
यूईएफएले इंग्ल्यान्ड एफएलाई ३० हजार युरो जरिवाना गरेको हो ।
युरोकप फुटबलको सेमिफाइनल अन्तर्गत इंग्ल्यान्ड र डेनमार्कबीचको खेल दौरान समर्थकले खेल भावना विपरित कार्य गरेको पाईएपछि यूईएफएले जरिवाना गरेको हो ।
वेम्बली स्टेडियममा बुधबार राति भएको खेलमा डेनमार्कलाई २-१ ले हराएर इंग्ल्यान्ड फाइनल पुगेको थियो । उक्त खेलमा भएको खेल भावना विपरित घटनाबारे यूईएफएले छानबिन गरेको थियो । छानबिनमा दोषी देखिएपछि इंग्ल्यान्ड एफएलाई जरिवाना गरिएको हो ।
उक्त खेल दौरान डेनमार्कमा गोलकिपर कास्परलाई लक्षित गरि दर्शकबाट 'लेजर लाइट' को प्रयोग भएको थियो । खेलको अतिरिक्त समयमा इंग्ल्यान्डका ह्यारी केनले पेनाल्टी प्रहार गर्नु अघि कास्परको अनुहारमा 'लेजर लाइट' परेको थियो ।
कास्परले केनको पेनाल्टी रोकेका थिए । तर, रिबाउन्टमा केनले गोल गर्दै इंग्ल्यान्डलाई जित दिलाएका थिए ।
यस्तै राष्ट्रिय गानको दौरान समर्थकले होहल्ला गर्दै अशान्ति फैलाएको र समर्थकले अतिशबाजी गरेका थिए ।