एजेन्सी । घरेलु टिम इंग्ल्यान्डले पहिलो एकदिवसीय क्रिकेटमा पाकिस्तानलाई पराजित गरेको छ ।
कार्डिफमा बिहीबार इंग्ल्यान्डले पाकिस्तानलाई ९ विकेटले पराजित गरेको हो ।
पाकिस्तानले दिएको १ सय ४२ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले २१ ओभर ५ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।
इंग्ल्यान्डको जितमा डाविड मालनले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै डेब्यु खेलाडी जाक क्रलीले पनि अविजित रहदै ५८ रनको अर्धशतकीय इनिङ्स खेले । फिल साल्ट ७ रनमा आउट भए ।
पाकिस्तानका शहिन शाह अफ्रिदीले १ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ३५ ओभर २ बलमा अलआउट हुँदै १ सय ४१ रन बनाएको थियो ।
पाकिस्तानका लागि फखर जमानले सर्वाधिक ४७ रन बनाए । शादव खानले ३० रन जोड्दा सोहिब मक्सुदले १९ रन जोडे ।
पाकिस्तानलाई सस्तैमा समेट्न इंग्ल्यान्डका शकिब महमुदले ४ विकेट लिए । क्रेग ओभर्टन र माट पर्किनसनले २/२ विकेट लिए ।
यस जितसँगै इंग्ल्यान्डले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । दुई टोलीबीचको दोस्रो खेल शनिबार हुनेछ ।