एजेन्सी । इंग्ल्यान्डका बलर ओली रोबिनसनलाई आठ खेलको प्रतिबन्ध लागेको छ ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले शनिबार रोबिनसनलाई आठ खेलको प्रतिबन्ध लगाएको हो ।
सामाजिक संजाल ट्वीटरमा आपत्तिजनक ट्वीटहरु पोस्ट गरेको विषयमा दोषी पाईएपछि रोबिनसनलाई प्रतिबन्ध गरिएको हो ।
रोबिनसनलाई सन् २०१२ देखि १३ को समयमा गरिएको ट्वीटको कारण निलम्बन गरिएको हो ।
उक्त ट्वीटमा रंगभेदीय दुर्व्यवहार हुने र यौनिक ट्वीटहरु रहेको बताईएको छ । रोबिनसनले उक्त ट्वीटबारे माफी समेत मागिसकेका छन् ।
यस्तै उनलाई ३२०० पाउण्ड जरिवाना समेत गरिएको छ ।
न्युजिल्याण्डविरुद्धको टेस्ट दौरान उनको ट्वीट सार्वजनिक भएको थियो । त्यसपछि इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले उनलाई तत्काल अन्तराष्ट्रिय क्रिकेटबाट निलम्बन गरेको थियो ।
२७ वर्षीय बलरले न्युजिल्याण्डविरुद्धको खेलबाट टेस्ट टिममा डेब्यु गरेका थिए । उक्त टेस्ट बराबरीमा सकिएको छ ।
तर, अब उनले पाँच खेलको मात्र प्रतिबन्ध भोग्नु पर्नेछ । निलम्बनपछि उनले ३ खेल गुमाएका थिए । त्यस खेल जोडिएको कारण अब उनले पाँच खेलको मात्र प्रतिबन्ध भोग्नु पर्नेछ ।