काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण स्थगित भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार टिमको बन्द प्रशिक्षण स्थगित गरिएको जनाएको छ ।
राष्ट्रिय टिमको बन्द प्रशिक्षण स्थगित भएपनि खेलाडीहरुले सानो समूह बनाएर कोभिडको प्रोटोकल पालना गर्दै टियु मैदानमा प्रशिक्षक डेभ वाटमोरसँग अभ्यास गर्ने क्यानले जनाएको छ । उक्त टिमसँग फिजियो बिक्रम न्यौपाने समेत रहने क्यानले जनाएको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएपछि टिमको बन्द प्रशिक्षण स्थगित भएको हो ।
स्पेनमा तय भएको नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको सिरिज २०२२ को जुलाईसम्मका लागि स्थगित भएको थियो ।
आईसीसीले कोरोना महामारीको कारण सिरिज स्थगित गरिएको जनाएको छ ।
सिरिजका लागि नेपालले कीर्तिपुरस्थित टियु मैदानमा मंगलबारबाट प्रशिक्षण सुरु गरेको थियो । क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको थियो ।
लिग-२ अन्तर्गत नेपालले यस अघि घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।
लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।
ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।
लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भने स्थगित भएको थियो ।