एजेन्सी । भारतमा आयोजना हुने भनिएको आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगिता युएईमा हुने भएको छ ।
भारतमा कोरोना भाईरसको महामारी कायम रहेपछि विश्वकप युएईमा आयोजना गरिने भएको हो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले औपचारिक रुपमा यसबारे केहि बताएको छैन । तर, क्रिकेट वेबसाइट क्रिकइन्फोले विश्वकप युएईमा हुने पक्का भएको जनाएको छ ।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआई पनि प्लान 'बी' अन्तर्गत विश्वकप युएईमा गराउन राजी भएको बताईएको छ ।
१६ टिमले प्रतिस्पर्धा गर्ने विश्वकप अक्टोबर १७ बाट सुरु हुने बताईएको छ । फाइनल खेल नोभेम्बर १४ मा हुनेछ ।
ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेट सकिएको दुई दिनपछि विश्वकप सुरु हुने बताईएको छ ।
कोरोनाको कारण आईपीएलको बाँकी खेलहरु युएईमा हुदैछ । आईपीएल सेप्टेम्बर १९ देखि अक्टोबर १५ सम्म हुने क्रिकइन्फोले जनाएको छ ।
प्रतियोगिता स्थगित हुनु अघिसम्म दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ । दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ । यस्तै चेन्नई दोस्रो र बैंगलोर तेस्रो स्थानमा रहेको छ ।