काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण रोकिने भएको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएपछि नेपालले टिमको तयारी रोक्ने भएको हो ।
स्पेनमा तय भएको नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको सिरिज २०२२ को जुलाईसम्मका लागि स्थगित भएको थियो ।
आईसीसीले कोरोना महामारीको कारण सिरिज स्थगित गरिएको जनाएको छ ।
क्यानका म्यानेजर विनोद दासले खेलाडी र प्रशिक्षकसँगको छलफलपछि टिमको तयारी केहि समय रोक्ने निर्णय गरेको बताए ।
'सिरिज स्थगित भईसक्यो । त्यसैले टिमको प्रशिक्षण केहि समयको लागि रोकिन्छ । मनसुनको सिजन समेत छ,' दासले खेलपाटीसँग भने, 'प्रशिक्षक र खेलाडीसनाग्को सल्लाहपछि तयारीबारे बोर्डलाई खबर गरेका छौँ । बोर्डले अनुमति दिएपछि टिमको प्रशिक्षण रोकिन्छ ।'
सिरिजका लागि नेपालले कीर्तिपुरस्थित टियु मैदानमा मंगलबारबाट प्रशिक्षण सुरु गरेको थियो । क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको थियो ।
दासले टिमले विदेशमा प्रशिक्षण गर्ने सम्भावना तत्काल नभएको समेत बताए ।
'यो महामारीमा तत्काल विदेश गएर टिमको तयारी र खेल्ने सम्भावना छैन । क्यानको बोर्डसँगको छलफलपछि अर्को इभेन्ट्सको लागि योजना बन्छ,' उनले भने ।
क्यानका सचिव अशोकनाथ प्याकुरेलले केहि दिनमा टिमको प्रशिक्षणबारे निर्णय हुने बताए ।
'अहिले टिमको प्रशिक्षण भईरहेको छ । सिरिज स्थगितपछि प्रशिक्षण रोक्ने वा कायम राख्नेबारे खेलाडीसँगको छलफलपछि आज र भोलि मै निर्णय हुन्छ । मुख्य कुरा प्रशिक्षण रोक्ने भन्दा आगामी सिरिजका लागि कसरि अघि बढ्ने भन्नेबारे योजना बन्छ,' प्याकुरेलले भने ।
लिग-२ अन्तर्गत नेपालले यस अघि घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।
लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।
ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।
लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भने स्थगित भएको थियो ।
बन्द प्रशिक्षणमा बोलाईएका खेलाडी -
ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख,पारस खड्का, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख,कुशल मल्ल,विनोद भण्डारी,करण केसी,सन्दीप लामिछाने,सोमपाल कामी, कमल सिंह ऐरी,अविनाश बोहरा, सन्दीप जोरा,शाहब आलम, शुशन भारी,शरद भेषवाकर,बिक्रम शोब, पवन सर्राफ, पृथु बास्कोटा