एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टेष्ट टिममा परिवर्तनको संकेत गरेका छन् ।
न्युजिल्याण्डविरुद्धको विश्व टेष्ट च्याम्पियनसिप फाईनलमा हार ब्यहोरेपछि कप्तान कोहलीले प्रतियोगिताको समिक्षा गर्दै सही मानसिकताको साथ प्रर्दशनमा उत्रने खेलाडीलाई टेष्ट टिममा ल्याउनुपर्ने बताए ।
भारतीय ब्याट्सम्यानले फाईनल खेलमा निराशाजनक प्रर्दशन गरे । भारतीय टिम फाईनलमा न्युजिल्याण्डसंग ८ विकेटले पराजित बन्यो । कोहलीले कुनैपनि खेलाडीको नाम लिएनन् तर केही खेलाडीमा रन बनाउने इच्छानै नदेखिएको आरोप लगाए ।
सिनियर खेलाडी चेतेश्वर पुजाराले ५४ बलमा ८ रन बनाए । र उनले पहिलो रनका लागि ३५ बल खेलेका थिए । उनले दोस्रो इनिङ्समा ८० बलमा १५ रन बनाए । न्युजिल्याण्डले १ सय ३९ रनको लक्ष्य सहजै भेट्टाएको थियो ।
खेल लगत्तै कोहलीले भने, ‘हामीले आत्मसमिक्षा गर्नेछौं । र यसको विषयमा कुरा भैरहनेछ कि टिमलाई बलियो बनाउन के गर्नपर्छ । एकै ढर्राबाट चल्दैन ।’
उनले थपे, ‘हामी एक वर्ष प्रतिक्षा गर्नेछैनौं । तपाई यदि हाम्रो सिमित ओभरको टिम हेर्नुहुन्छ भने हामीसंग गहिराई छ । र खेलाडी आत्मविश्वासले भरिएका छन् । टेष्ट क्रिकेटमा समेत यसको आवश्यकता छ ।’
कोहलीले भने, ‘हामीलाई नयाँ सिराबाट समिक्षा गर्न र योजना बनाउन आवश्यक छ । हामीले यो बुझ्न आवश्यक छ, टिमका लागि के आवश्यक छ । कसरी हामी बिना डर खेल्न सक्छौं । सही खेलाडीलाई ल्याउन आवश्यक छ, जो राम्रो प्रर्दशन गर्ने मानसिकतासाथ उत्रनेछन् ।’
उनले न्युजिल्याण्ड जस्तो उत्कृष्ट बलरसामु खेल्ने बिषयमा योजना बनाउन आवश्यक रहेको बताए ।
‘हामीलाई यसमा काम गर्न आवश्यक छ । रन कसरी बनाउने ? हामीले खेललाई आफ्नो हातबाट निस्कन दिन हुदैन । मलाई लाग्दैन, केही तनाब छ । ’ उनले थपे ।