काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ ।
कोभिड–१९ को कारण स्पेनमा तय भएको सिरिज २०२२ को जुलाईसम्मका लागि स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । सिरिज आगामी जुलाई अन्तिममा हुने तालिका रहेको थियो ।
क्यानका सचिव अशोकनाथ प्याकुरेलले कोभिडको प्रभावका कारण स्पेनमा हुने तय भएको सिरिज स्थगित भएको जनाएका छन् ।
सिरिजका लागि नेपालले गत मंगलबारबाट बन्द प्रशिक्षण समेत सुरु गरेको थियो । बन्द प्रशिक्षणका लागि क्यानले २० खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो ।
मुख्य प्रशिक्षक डेभ वाटमोर समेत नेपाल आएर बन्द प्रशिक्षणमा सहभागी भएका थिए ।
तर अन्तिम समयमा आएर कोभिडको कारण देखाउँदै सिरिज स्थगित भएको छ ।
लिग-२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।
लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।
ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।
लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भने स्थगित भएको थियो ।
ओमानमा हुने सिरिज मार्च १९ देखि २८ सम्म हुने तालिका रहेको थियो ।