काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजमा जित निकाल्न टिमले धेरै मेहेनत गर्नु पर्ने बताएका छन् ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदान मंगलबार संचारकर्मीसँग कुरा गर्दै कप्तान मल्लले सिरिजमा जित निकाल्न टिमले धेरै मेहेनत गर्नु पर्ने बताएका हुन् ।
'ओडीआईमा कुनैपनि टिम सजिलो त हुँदैन । स्कटल्याण्ड र नामिबियाले जुन खालको क्रिकेट खेलिरहेको छ । लगातार खेलिरहेको छ । त्यो हेर्दा हामीले धेरै मेहेनत गर्नु पर्छ जस्तो लाग्छ,' उनले भने ।
स्पेनमा आयोजना हुने त्रिकोणात्मक सिरिजका लागि नेपालले मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा मंगलबारबाट बन्द प्रशिक्षण थालेको हो । क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको थियो ।
कप्तान मल्लले एसोसियट राष्ट्रबाट माथि जानका लागि नेपालले स्कटल्याण्ड र नामिबिया जस्ता टोलीलाई हराउँनु पर्ने समेत बताए ।
'यो हाम्रो लागि परीक्षण अवधि जस्तो लाग्छ । हामी एसोसियट राष्ट्रमा अगाडी बढ्ने हो भने हामीले उनीहरुलाई पराजित गर्ने सोच्नु पर्छ,' कप्तान मल्लले भने, 'अन्तराष्ट्रिय क्रिकेटमा नेपालको सम्भावना पहिलेबाटै थियो तर हामीले त्यसलाई सदुपयोग गर्न नसकेको हो ।'
लामो समय एकदिवसीय क्रिकेट नखेलेको कारण स्पेनमा टिमलाई केहि कठिन हुने समेत उनले बताए । उनले मौषमको कारण तयारीमा असर गरेको समेत बताए ।
'५० ओभर धेरै पछि खेल्न लागेका छौँ । घरेलु त खेलेका छौँ तर अन्तराष्ट्रिय नखेलेको धेरै भईसक्यो । मौषम राम्रो हुन् सकेन । फिल्ड गर्नु पर्ने कामहरु गर्न सकेनौं । स्पेनमा अलि बढी बिताउने योजना बन्दैछ । तर, अब अवस्था अनुसार हुन्छ,' उनले थपे ।
कप्तान मल्लले टिमको ब्याटिङमा सुधार आएको समेत बताए । उनले घरेलु मैदानमा भएको टी-ट्वान्टी सिरिजमा टिमको ब्याटिङ सुधार भएको देखिएको बताए ।
'हाम्रो ब्याटिङ राम्रो भईरहेको थिएन । तर, पछिल्लो टी-ट्वान्टीमा राम्रो थियो । टी-ट्वान्टी फरक हो, ५० ओभरमा टी- ट्वान्टी जस्तो नहोला तर नयार पुरानो खेलाडीले ब्याटिङ सम्हाल्न सक्छ भन्ने विश्वास छ,' मल्ल भने ।
लिग-२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।
लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।