नेपाल आईपुगे पेड्रो

काठमाडौं । फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) खेल्न स्पेनिस खेलाडी पेड्रो मान्जी काठमाडौं आईपुगेका छन् ।
विराटनगर सिटी एफसीमा आबद्द पेड्रो बुधबार काठमाडौं आईपुगेका हुन् ।
पछिल्लो समय भारतमा व्यवसायिक फुटबल खेलीरहेका पेड्रो पहिलो पटक नेपाल आएका हुन् ।
उनलाई क्लबका प्रतिनिधिहरुले विमानस्थलमा स्वागत गरेका थिए ।
३२ वर्षीय सेन्टर फर्वाड पेड्रोले भारतीय आईलिग क्लब मोहम्मेडन स्पोटिङ क्लबबाट खेलेका थिए । यस्तै उनले आईएसएल चेन्नई सिटीबाट खेलेका थिए ।
उनले चेन्नईमा २३ खेल खेल्दै २६ तथा मोहम्मेडनमा ८ खेल खेल्दै ६ गोल गरेका थिए ।
स्पेनिस क्लब लास पाल्मासको युथ टोलीका खेलाडी पेड्रो पछिल्ला समय विभिन्न देशबाट व्यवसायिक फुटबल खेल्दै आईरहेका छन् ।
विराटनगरले आफ्नो प्रशिक्षकको रुपमा 'ए' लाईसेन्स प्राप्त प्रशिक्षक यान ललाई टोलीमा अनुबन्ध गरिसकेको छ ।
यस्तै नेपालबाट मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबलाई ए डिभिजन लिगको उपाधि दिलाएका मिडफिल्डर एडेलाजा सोमिडे र हिमालयन शेर्पाबाट खेलेका डिफेन्डर उर्लिचलाई टोलिमा समावेश गराएको थियो ।
टोलीले स्थानिय खेलाडीको कोटामा कोरियामा रहेर फुटबललाई अगाडी बढाईरहेका मनिष डाँगीलाई भित्र्याएको छ । टोलीको मार्कि खेलाडीमा राष्ट्रिय टोलीका डिफेन्डर रन्जित धिमाल रहेका छन् ।
विराटनगरले आफ्नो पहिलो खेलमा धनगढी एफसीको सामना गर्नेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।