विरबहादुर खड्का ।
काठमाडौं । एएफसी क्लब लाइसेन्सिङ नेपालभर खुल्ला गरिनुपर्छ । काठमाडौंका क्लब सक्षम छन् । उनीहरुले करोडौं रुपैयाँ लगानी गरेका छन् । तर उनीहरुले करोडौं लगानी गरेको छु भन्दैमा एएफसीले मान्दैन । करोडौं खर्च गरेका छन् भने एएफसी लाइसेन्स किन नलिने ?
सबै क्लब लाइसेन्सिङमा आउनु पर्यो ।
मोफसलमा पनि केही त्यस्ता क्लब छन्, जो क्लब लाइसेन्सिङमा आउन तयार छन् । उनीहरु क्लब लाइसेन्सिङको खुल्ला प्रक्रियाबाट आउन तयार छन् । पुरानै क्लबको मुख ताकेर, उनीहरुको मन बुझाउन खुल्ला प्रक्रियामा गएनौं र फुटबलमा मोफसलका क्लब आएनन् भने नेपाली फुटबल चल्न गाह्रो हुन्छ ।
एएफसीले क्लब लाइसेन्सिङ नभएका क्लबलाई ब्यवसायीक फुटबल खेल्न नपाउने नियम बनायो भने के गर्ने ?
गत वर्षकै लिग च्याम्पियन बनेको मछिन्द्रले एएफसी लाइसेन्स नभएका कारण एएफसी क्लब च्याम्पियनसिप खेल्न पाएन । विभागीय टोलीले खेलाडीलाई वर्षभरी तलब, भत्ता दिएर राखेको छ । तर, चन्दा उठाएर फुटबल खेलेका क्लबले भोलीका दिनमा लगानी गर्छन कि गर्दैनन् ।
करोडौं लगानी गरेर सहिद स्मारक 'ए' डिभिजन लिगको च्याम्पियन हुने तर एएफसी च्याम्पियनसिप खेल्न नपाउने भएपछि क्लबले लगानी गर्न मान्दैनन् । त्यसैले मैले बारम्बार क्लब लाइसेन्सिङ खुल्ला प्रक्रियाबाट लैजानुपर्छ भनेर आवाज उठाएको छु । काठमाडौं होस् वा बाहिरका क्लब, जसले प्रक्रिया पुरा गर्छ, त्यसले पाउनु पर्छ ।
क्लब लाइसेन्सिङ खुल्ला गरेपछि केही मोफसलका क्लब पनि सक्षम छन् । मोफसलका चार–पाँच क्लबले एएफसीको मापदण्ड पुरा गर्न सक्छन् । ती क्लबले पनि क्लब लाइसेन्सिङ लिन्छन् । काठमाडौंका क्लबले पनि लैजान्छन् । यसले फुटबल खेल्ने क्लब मात्र रहने भए । अन्य क्षेत्रमा पनि काम गर्ने क्लब पछि हट्नुपर्छ ।
अब फुटबल क्लब लाइसेन्सिङको रुपमा देश व्यापीरुपमा जानु पर्छ । काठमाडौंका दुई क्लबलाई झापा वा धनगढीमा लगेर खेलाउँदैमा फुटबल मोफसलमा गएको मानिदैन । त्यो स्थानमा फुटबल प्रेमीले क्लबप्रति अपनत्व गर्न सक्नुपर्छ ।
एएफसीले अहिले तिमी फुटबल खेल्छौ भने फुटबल मात्र खेल, अन्य काममा हात हाल्दै नहाल भनेको छ । क्लब लाइसेन्स पाएको खण्डमा क्लबको काम मात्र फुटबल खेल्ने हुन्छ । क्लब प्राइभेट लिमिटेडमा जान्छन् । प्राईभेट लिमिटेडमा जाँदा पब्लिक सेयरका विषय आउँछन् । यसले क्लबलाई अझ व्यवसायीकतातर्फ लैजान मद्दत गर्छ । सारा नेपालीले सेयर हाल्छ । अनि आम मानिसको क्लबप्रति पनि अपनत्व बढ्छ ।
उदाहरणका लागि लिग च्याम्पियन मछिन्द्रलाई नै लिन सकिन्छ । उसले गत सिजन च्याम्पियन बन्न करिब दुई करोड खर्च गरेको छ । तर, उसले च्याम्पियन भएर पनि एएफसी कप खेल्न पाएन ।
मछिन्द्रले एएफसी कप खेल्न पाएको भए, उसलाई केही आर्थिक फाइदा पनि हुने थियो । एएफसीले तयारी स्वरुप आर्थिक सहयोग गथ्र्यो । क्लबले पनि आफ्नो ब्राण्डिङ गर्न पाउँथ्यो । तर, लाइसेन्स नभएकाले मछिन्द्र सफल भएन ।
मछिन्द्रले च्याम्पियन बन्नका लागि थप चार–पाँच करोड खर्च गर्ला । तर, लाइसेन्स विना क्लबले कहिलेसम्म खर्च गर्ने ?
अब हामीसँग क्लब लाइसेन्सको समय सिमा सकिदैछ । समय सिमा सकिएपछि अब एएफसीले के एक्सन लिन्छ, त्यो हेर्न बाँकीनै छ । हामीले यसअघि लाइसेन्सकै विषयमा एक पटक जरिवाना तिरिसकेका छौं ।
हामीले एक–दुई वर्षको समय दिएर भएपनि क्लब लाइसेन्स खुल्ला गर्नु पर्छ । त्यो खुल्ला लाइसेन्सिङमा जति क्लबहरु आउँछन्, ती क्लबलाई मात्रै मान्यता दिनु पर्छ । र ए डिभिजन लिग खेलाउनुपर्छ । क्लब लाइसेन्सिङमा आउने ५–७ वटै क्लब किन नहुन् । त्यसमा काठमाडौंकै पनि हुन सक्छन, बाहिरको पनि हुन सक्छन् । जोसँग सबै कुरा पुग्छ, त्यसलाई प्रक्रियामा ल्याउनु पर्यो ।
यसो गर्दा पोखराको सहारा, झापाको झापा फुटबल क्लब, रुपन्देहीको गोर्खा ब्वाइज पनि आउन सक्छ । किनभने उनीहरुसँग एएफसीले मागेको कुरा पुग्न आउँछन् । नामले मात्र केही हुदैन । फुटबलमा लगानी गर्नु पर्छ । जसले लगानी गरिरहेका छन्, उनीहरुलाई स्थान दिनु पर्छ ।
क्लब लाइसेन्स खुल्ला गर्दा आउने क्लब र केही वर्षसम्म समय दिएर शीर्ष डिभिजनका क्लबलाई सँगसँगै लैजान सकिन्छ । उनीहरुले पनि लामो समयदेखि फुटबलमा लगानी गरिरहेका छन् । एकै पटक पछाडी हट भन्न पनि सकिदैन । तर एन्फाले कुनै न कुनै योजना त बनाउनु पर्यो । केही समय खेल्न दिने, सक्दैन भने हटाउनु पर्यो । त्यो बोल्ड निर्णय त फुटबल बनाउँछु भनेर आएको एन्फाले गर्नु पर्यो । भोट घट्छ भने कुरेर बसेर फुटबलको विकास हुन्छ ? लाइसेन्समा आउन सक्नु हुन्छ भने आउँ, हैन भने फुटबल छोड भन्न सक्नु पर्यो । अन्य क्लबका लागि बाटो सहज बनाई दिन पर्यो । तर, त्यो पनि समय एक दिन पक्कै आउँछ ।
शीर्ष डिभिजन लिग खेल्ने क्लबप्रति एन्फाले निर्णय लिन सक्दैन भने लाइसेन्स लिने क्लबको मात्र पनि लिग गराउँदा पनि हुन्छ । उनीहरुले भोलि एएफसी च्याम्पियनसिप खेल्न पाउँछ ।
अर्कोतर्फ क्लबसँग सँगै नेपाली फुटबललाईनै घाटा हो । क्लब लाइसेन्स खुल्ला नहुँदा फुटबल पनि बाहिर जाँदैन ।
यहि अवस्था रहने हो भने आर्मीले शान्त बस्दा हुन्छ । किनभने जुन सुकै क्लब च्याम्पियन भएपनि एएफसी च्याम्पियनसिप खेल्ने आर्मीनै हो । लाइसेन्स भएको नेपालको एक मात्र क्लब आर्मी हो । अब एएफसीले हेर्ने भनेको आर्मीलाई मात्र हो । अन्य क्लबसँग एएफसीको कुनै सरोकार हुँदैन । किनभने अन्य क्लबले एएफसीको मापदण्ड पुरा गर्न सकेका छैनन् ।
हामीले फुटबल बनाउन केही न केही परिवर्तन गर्दैछौं । हामी अगाडी सर्नै पर्छ । अरु रिसाउँछ भनेर बसेर मात्र हुँदैन । हिम्मत गर्नु पर्यो । त्यो हिम्मत कसले गर्ने भन्ने विषय अर्को पाटो बनेको छ ।
हामीले क्लब लाइसेन्स खुल्ला गर्दा एन्फाले उपत्यकाका क्लबलाई बाहिर जानु पर्यो भनेर प्रस्ताव गरिरहनु नै पर्दैन । किनभने खुल्ला लाइसेन्सले अन्य क्लबहरु लिगको त्यो स्थानमा आइदिन सक्छन् । त्यसले उनीहरुलाई पनि दबाब सृजना हुन्छ ।
क्लबको लक्ष्य एएफसी च्याम्पियनसिप हुन पर्यो । तर, लाइसेन्सनै छैन भने उनीहरुको लक्ष्य कसरी तय हुन्छ ?
मलाई थाहा छ । काठमाडौंका क्लबले नेपाली फुटबललाई जे जसो भएपनि थेगेको छ । तर, अब कहिलेसम्म हामी पुरानै प्रवृतीमा चल्ने ? हामीले क्लबलाई मर्न नदिनका लागि भएपनि बरु थोरै आउ, लाइसेन्सिङमै आउ भन्नु पर्छ ।
हामीले यस विषयमा क्लबलाई बुझाउन सकिरहेका छैनौ । केही क्लबले बल्ल बुझ्दै छन् । उनीहरु यसको तयारीमा समेत लागेका छन् । यिनीहरुले भर्खर बुझ्दैछ । हाम्रो एकेडेमी नहुँदा, मैदान नहुँदा हामी नेपाली फुटबलमा डुब्छौ भनेर चेत खुल्दैछ ।
म लाइसेन्स खुल्ला गर्न किन भन्छु भने एउटा उदाहरण साहारा क्लबकै दिन्छु । साहारा क्लबसँग लाइसेन्सका लागि पुरा गर्नु पर्ने सबै प्रक्रिया पुरा छ । एक–दुई विषय बाहेक । जुन केही समयमै पुरा गर्न सकिन्छ ।
पोखरामा अहिले फुटबलको माहोल त्यस्तो राम्रो छ । जुन काठमाडौंमा छैन । भोलि साहाराले एएफसी लाइसेन्स पाएर ए डिभिजन लिग खल्छ भने त्यसमा कुनै आपत्ती लिनुपर्ने विषय पनि हैन । उ च्यम्पियन भयो भने एएफसी कप खेल्न पाउँछ । त्यो हेर्यो भने अन्य मोफसलका क्लबलाई पनि क्लब लाइसेन्सिङमा जानु पर्छ भनेर तयार हुन्छन् । त्यसले नेपाली फुटबललाई बचाउँछ ।
अहिले हामी होम एण्ड अवेका कुरा गरिरहेका छौं । क्लब उपत्यकामै सिमित छन् । कसरी त्यो सम्भव हुन्छ ? लाइसेन्सिङ खुल्ला गरेको खण्डमा बाहिरका क्लब पनि लिगमा समावेश हुन्छन् । अनि मात्रै होम एण्ड अवे लिग हुन्छ । मोफसलमा स्थानीय निकायले पनि ती क्लबलाई सहयोग गर्ने भयो ।
तीन वटा क्लबको होम ग्राउण्ड दशरथ रंगशाला, तीन वटाको च्यासललाई बनाउने भन्दै गर्दा हामी फेरी कसरी होम एण्ड अवेको कुरा गर्दैछौ । अर्कोतर्फ क्लबहरु पनि बाहिर जान सकिरहेका छैनन् । क्लबलाई पनि हामी नभए लिग चल्दैन भन्ने छ । नेपाली लिग हामीनै हो भन्ने छ ।
(एन्फाका उपाध्यक्ष विरबहादुर खड्कासँग जितु साउदले गरेको कुराकानीको सम्पादित अंश)