सामाजिकको लगातार दोस्रो जित
२०२१ मार्च १९, शुक्रबारखेलपाटी संवाददाता

काठमाडौं । सामाजिक युवा क्लबले सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।
शुक्रबार भएको खेलमा सानेपा युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सामाजिकले लगातार दोस्रो जित निकालेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सामाजिकलाई जित दिलाउन विकास दर्जीले निर्णायक गोल गरे ।
विकासले खेलको ८४ औं मिनेटमा फ्रिकिकबाट गोल गरेका हुन् ।
यस जितसँगै समूह 'बी' को सामाजिकले २ खेलमा ६ अंक जोडेको छ ।
पहिलो खेलमा सामाजिकले स्वयम्भु क्लबलाई हराएको थियो ।
सानेपाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा सानेपा विरगंज युथ युनाइटेडसँग पराजित भएको थियो ।