काठमाडौं । नेपालले विक्रम सम्मत २०३० सालदेखि आधिकारीक रुपमा भलिबल खेल्न सुरु गर्यो । यसअघि भलिबल गाँउघरमा सामान्य रुपमा रमाइलोका लागि खेलिन्थ्यो । पछिल्लो समय भलिबल नेपालको राष्ट्रिय खेल भएको छ ।
राष्ट्रिय खेल घोषित भएसँगै खेलमा केही परिवर्तन भएको छ । तर, राष्ट्रिय खेलको हैसियतमा पूर्वाधार र सुविधा भलिबलले पाउन सकेको छैन । चर्चा र लोकप्रियताको हिसाबले नेपालमा प्रचुर सम्भावना बोकेको भलिबल खेललाई कसरी व्यवस्थित र व्यवसायीक बनाउन सकिन्छ ? बामे सर्दै गरेको नेपालको भलिबललाई कस्तो बनाउने ?
यस श्रृङ्खलाको पहिलो भागमा राष्ट्रिय भलिबल टिमका पूर्व खेलाडी जय नारायण चौधरीसँग कुराकानी गरेका छौं ।
विक्रम संवत २०४६ अघि र पछि गरेर भलिबलको दुईवटा परिप्रेक्ष्य छ । जसमा २०४६ अघि सबै खेलाडीले अञ्चलबाट खेल्थें । खेलाडीको खेलसंगै पढाई पनि राम्रो हुन्थ्यो । पैसालाई महत्व दिइदैनथ्यो । खेलाडीको मासिक दर ८० देखि ८२ रुपैयाँ हुन्थ्यो । टिमका प्रशिक्षकलाई औपचारिक शिक्षाकालागि विदेश पठाइन्थ्यो ।
तर,२०४६ मा राष्ट्रिय खेलकुद परिषद र नेपाल भलिबल संघबाट ठूलो गल्ती भयो । १४ अञ्चलबाट खेल्ने खेलाडीलाई सशस्त्र प्रशरी बल एपीएफ, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीमा राखियो । बाँकी खेलाडी प्रदेशमा गए । प्रतियोगिताहरु भए तर खेलमा बाघ र बाख्रालाई एकैठाउँमा मिसाएर खेलाएको जस्तो भयो । राम्रा खेलाडीलाई विभागले तान्यो ।
अहिलेको भलिबललाई हेर्ने हो भने पुरस्कार राशीमा वृद्धि भएको छ । तर, उचित कार्यतालिका र योजना नहुँदा विकास हुन सकेको छैन । एकै महिनामा ३–४ वटा प्रतियोगितासम्म हुने गर्दछ । त्यसले गर्दा खेलाडीले कहिले आराम गर्ने, ट्रेनिङ गर्ने, खाना कस्तो खाने ? केही कुराको योजना छैन । त्यसैले कार्यतालिका ल्याउनुपर्छ र त्यसलाई कसरी परिचालन गर्ने योजना बनाउनुपर्छ ।
प्रतियोगिता व्यवस्थित हुन जरुरी छ । महिनामा ३–४ वटा प्रतियोगिता हुन थालेको छ । त्यसैले खेलाडीहरु घाइते हुने सम्भावना बढी हुन्छ । खेलाडीमा चोटको समस्या बढ्न लागेको छ । पैसाको लागि दौडधुप मात्र भएको देखिन्छ । अबको दिनमा प्रशिक्षक, प्रशिक्षण विधि, ट्रेनिङ सबै कुराको मूल्याङ्कन गर्नुपर्छ र त्यसको आधारको विषयमा पनि सोच्नुपर्छ ।
नेपालमा पुरुषको तुलनामा महिलाले धेरै पदक जितेका छन् । उनीहरुले राष्ट्रको नामलाई उच्च बनाएका छन् । छोरीहरुको सम्भावना धेरै छ, त्यसैले उनीहरुलाई प्रोमोट, आधार दिनुपर्छ । उनीहरु मात्र नभएर उनीहरुको परिवारलाई कसरी सुरक्षित गर्ने, उनीहरुको भविष्यको सुनिश्चितता छैन, त्यो गरिदिनुपर्छ ।
संघमा झोला बोक्ने मात्र बोर्डमा छन्, भलिबलसँग सम्बन्धित व्यक्ति छैनन् । खेलाडीको प्रोमोट भएन भन्छन् तर बोर्डका मान्छेसँग ठूला ठूला कम्पनी, अफिससँग हात जोडेर खेलाडीका लागि सहयोग माग्न सक्ने कोही छैनन् । अनि भन्छन् प्रोमोट भएन । बोर्डमा भएका मान्छेसँग त्यो सबै क्षमता हुनुपर्छ ।
नेपालमा प्रशिक्षकहरुको कमी छैन तर उत्कृष्ट प्रशिक्षक भने पाउन धेरै मुश्किल छ । पहिला प्रशिक्षहरुलाई औपचारिक शिक्षाको लागि अन्य देशहरु पठाइन्थ्यो । तर अहिले १० वर्षभन्दा माथिका कोही पनि अनुभवी प्रशिक्षक छैनन् । सबै नायव सुब्बा पदका प्रशिक्षक छन् । प्रशिक्षक नै राम्रो छैन भने खेलाडीले कसरी राम्रो सिक्छन् । खेलाडीसँग के आशा गर्ने ?
ट्रेनिङकै समस्या छ । प्रशिक्षक छन्, तर उत्कृष्ट प्रशिक्षक तयार छैनन् । प्रशिक्षकलाई औपचारिक शिक्षाका लागि पठाउने, आएपछि उनीहरुको पनि मूल्याङ्कन गर्ने हुनुपर्छ । यसो गर्दा उसले सिकेर आएको शिक्षा कत्तिको प्रभावकारी भयो भन्ने थाहा पाउन सकिन्छ । खेलाडीलाई टे«निङ, खाना, आराम, शिक्षा सबैको ख्याल गरेमा राम्रा खेलाडी पलायन हुनबाट जोगिन्छ । तर अहिले त्यस्तो छैन ।
पहिला हामी संस्थानबाट खेल्थ्यौ । जस्तै, कृषि विकास बैंक, नेपाल बैंक, वाणिज्य बैंक, सञ्चयकोष, आरएनएसी ।
त्यसबेला हामीलाई संस्थानले लिएको भए वा संरक्षण गरेको भए हामी हराएर जादैन थियौ । रोकिने ठाउँ हुन्थ्यो । अहिले नेटमा हान्यो भने राम्रो भन्छन् तर खेलाडीलाई ‘स्टेप बाई स्टेप’ सिकाउनुपर्छ । क्लबहरु धेरै छन् तर पोजिसन छैन । खेललाई नियमले बाँधेको छैन । राजनीतिक क्षेत्रका व्यक्ति संघमा छन्, खेल क्षेत्रकै कोही छैनन् । सायद त्यसैले पनि खेलकुदमा असर पुगेको छ ।