काठमाडौं । माल्दिभ्सले १२ औं संस्करणको साफ सुजुकी कप (साफ च्याम्पियनसिप) फुटबलको उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा साबिकको उपविजेता भारतलाई २ - १ ले हराएर माल्दिभ्सले उपाधि जितेको हो ।
बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा माल्दिभ्सलाई जित दिलाउन इब्राहिम महुधी र अली फसिरले समान एक एक गोल गरे । भारतका सुमित पसाईले एक गोल फर्काए ।
माल्दिभ्सले दुवै हाफमा एक एक गोल गरेको थियो । खेलको १९ औं मिनेटमा महुधीले गोल गर्दै माल्दिभ्सलाई सुरुवाती अग्रता दिलाए । खेलको ६६ औं मिनेटमा फसिरले गोल गर्दै माल्दिभ्सलाई २ - ० को अग्रता दिलाए । खेलको इन्जुरी समयमा भारतका सुमितले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन ।
योसंगै माल्दिभ्सले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जित्न सफल भएको छ । यता, भारत आठौं पटक साफको उपाधि जित्नबाट बन्चित भएको छ । यस्तै माल्दिभ्सले भारतसंग समूह चरणमा बेहोरेको हारको बदला समेत लिएको छ ।
साफको सेमिफाइनलमा माल्दिभ्सले नेपाललाई ३ - ० ले हराएर फाइनल यात्रा तय गरेको थियो । समूह चरणमा भाग्य (गोलाप्रथा) को आधारमा सेमिफाइनलमा पुगेको माल्दिभ्सले अन्तत उपाधि जितेको छ ।
यता, यू-२३ खेलाडी रहेको भारतले पाकिस्तानलाई २ - १ ले हराएर सेमिफाइनल यात्रा तय गरेको थियो ।
तस्विर -अमिनुल इस्लाम