काठमाडौं । जब जब खेलकुदको इतिहास खोतल्न सुरु गरिन्छ, नरशमशेर जबरासम्म पुग्नै पर्छ ।
९० को दशक उनै नरशमशेरको नेतृत्वमा काठमाडौंमा खेलकुदका कार्यक्रम हुन्थे । जावलाखेल खेल्नका लागि उपयुक्त मानिन्थ्यो । मैदान भएकाले समेत जावलाखेलमा खेलकुदको वातावरण बनेको थियो ।
क्लबहरु दर्ता हुने चलन थिएन । कसैले फुटबल खेल्न सुरु गरे, कसैले क्रिकेट । सबै खेलको नेतृत्व राणाहरुले गर्थे । राणालाई खेल्न सुरु गरे, विस्तारै स्थानीयले त्यसलाई ग्रहण गरे । लामो समय त्यसरीनै बित्यो ।
बिस्तारै समाजले महशुश गर्न थाल्यो, खेलकुद संस्थागत हिसाबले जान पर्छ । बल्ल क्लबहरु दर्ता गर्ने शिलशिला सुरु भएको हो ।
त्यही सेरोफेरोमा २०२९ सालमा जावलाखेल युथ क्लब दर्ता भयो । क्लबका अध्यक्ष बने तत्कालिन वडा अध्यक्ष सुर्यबहादुर खड्का । पछि माननीयनै भए । त्यो समय वडा अध्यक्षनै क्लबको पदेन अध्यक्ष बन्ने परम्परा जस्तै बन्यो ।
‘क्लब चलाउन सहयोग चाहिने । त्यो बेला वडा अध्यक्षनै स्थानीय तहमा हर्ताकर्ता हुन्थे । बजेट लिन-दिन सक्थे । परे गोजीबाट समेत हाल्न सक्थे ।’ जावलाखेलका संस्थापक सदस्य समेत रहेका अध्यक्ष माधव खड्का सम्झिन्छन् ।
जावलाखेल क्लब दर्ता भएपनि खेलकुद गतिविधिमा फुटबलनै सक्रिय थियो । क्लबमा केही वर्षपछि मात्र भलिबल सुरु भएको खड्का बताउँछन् ।
‘सामाजिक क्लबका धेरै दायित्व र क्षेत्र हुन्छ । दुई चार वर्षपछि सिङ्गो क्लबले भलिबल थेग्न सकेन । क्लबको शाखा बन्ने भयो । एउटा शाखा भलिबलको रहने गरि स्थापना भएको हो ।’ क्लबको पृष्ठभुमीबारे खड्काले खेलपाटीसंग भने ।
‘भलिबल चलाउन छुट्टै समुह आयो, नियमित अभ्यास गराउने सल्लाह बन्यो । भलिबलको नियमित अभ्यास हुन थाल्यो ।’ खड्का पुराना दिन सम्झिन्छन्, ‘राष्ट्रिय प्रतियोगिता खेल्ने बागमती अञ्चलको टिममा अधिकांश अनुहार जावलाखेलका हुन्थे ।’
बागमतीले ३४ सालदेखि ३८ सालसम्म लगातार ५ वर्ष राष्ट्रिय प्रतियोगिता जित्यो । टिमका अधिकांश खेलाडी जावलाखेलका थिए ।
‘राष्ट्रिय प्रतियोगितामा गर्विलो उपस्थितीसंगै ट्रेनिङ सेन्टरको रुपमा क्लबलाई लैजाने सल्लाह भयो । त्यसपछि जावलाखेल नियमित अभ्यास गराउने ट्रेनिङ सेन्टरको रुपमा अघि बढ्यो ।’ क्लबका अध्यक्ष खड्काले भने ।
प्रशिक्षणकाे माेर्चा कपिल किशाेर श्रेष्ठ र लक्ष्मीनारायण श्रेष्ठले सम्हाल्ने भए ।
‘प्रशिक्षण अघि बढ्दै जादाँ आधिकारिक ट्रेनिङ सेन्टर स्थापना गर्ने कुरा आयो । २०५० सालमा ट्रेनिङ सेन्टरको रुपमा यसको उद्घाटन भएको हो ।’ खड्काले ट्रेनिङ सेन्टरको पृष्ठभुमीबारे खेलपाटीसंग भने ।
तत्कालिन सदस्य सचिव रुक्मशमशेर राणा र जापानी राष्ट्रिय महिला भलिबल टिमकी कप्तान ईचिको सातोले संयुक्त रुपमा ट्रेनिङ सेन्टरको उद्घाटन गरेका थिए । ट्रेनिङ सेन्टरको मैदान बनाउन तत्कालिन मन्त्री केशरबहादुर विष्टले आवश्यक सहयोग गरेको खड्का अहिलेपनि सम्झिन्छन् ।
स्थापनाकालदेखि जावलाखेलले प्रतियोगिता खेल्ने मात्र हैन, निरन्तर रुपमा भलिबलको अभ्यास गराउने भुमिकामा आफुलाई स्थापित गर्दै आएको छ । ३४ सालदेखि ३८ सालसम्म निरन्तर ५ वर्ष राष्ट्रिय प्रतियोगिता जितेर इतिहास बनाएको जावलाखेलले भलिबल खेलाडी उत्पादन गर्ने स्कुलको पहिचान बनाएको छ । नेपाल प्रहरीका पुर्व डिआईजी रमेश खरेलदेखि नेपाली सेनाका सहायक रथी मिनध्वज खड्का जावलाखेलकै उत्पादन हुन् ।
खेलाडी उत्पादन, नियमित प्रशिक्षण र अन्तराष्ट्रिय प्रतियोगिताको नतिजामा जावलाखेलको आफ्नो विरासत र ईतिहास छ । राखेप र नेपाल भलिबल संघले गर्न नसेकेको नियमित प्रशिक्षण वर्षभरी जावलाखेलमा हुने गर्छ ।
‘अभ्यासका लागि छुट्टै प्रकारको ‘ट्रेनिङ प्रोग्राम सेट’ गरेका छौं । शनिबार र खास खास पर्व बाहेक निरन्तर अभ्यास गराउँछौं ।’ अध्यक्ष खड्काले भने ।
जावलाखेल भलिबलको नियमित आय स्रोत केही छैन । खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बजेट जावलाखेलले देख्न पाएको छैन । प्रदेश सरकारको सहयोगमा जावलाखेलले प्यारापिट सहितको कभर्डहल बनाउने बजेट यसवर्ष पाएको छ ।
‘निरन्तर आय भन्ने केही छैन । कुनै सरकारी बजेट भेटेका छैनौ । त्यो बजेट कहाँ हुन्छ, के हुन्छ थाहा छैन । क्लबकै टिमले ब्यवस्थापन गर्दै सबैसंग हातेमालो गरेर अघि बढेका छौं ।’ खड्का भन्छन् ।
अध्यक्ष खड्का खेलकुदको सर्वोच्च निकाय मन्त्रालय र कार्यकारी निकाय राखेपको नजर ट्रेनिङ सेन्टरमा नपर्दा दुख ब्यक्त गर्छन् ।
‘परिषद्को बजेट हाम्रो ट्रेनिङ सेन्टर देखेको छैन । यहाँ आएर माला नलगाएका खेलकुद मन्त्री, परिषद्का सदस्य सचिव, बोर्ड सदस्य कमै हुनुहुन्छ होला । तर यहाँको विकासमा के योगदान भयो भन्ने, अन्जानमै छौं ।’ उनी भन्छन् ।
खेलाडी उत्पादन, भौतिक विकास र नतिजा हेर्दा अध्यक्ष खड्कालाई यात्राको आधा बाटो पार गरे जस्तो लाग्छ ।
‘लक्ष्यमा नपुगेसम्म गर्व गर्न हुदैन भन्छन् । खेलाडी उत्पादन, भौतिक पुर्वाधार र विभिन्न नतिजा हेर्दा आधा बाटो पुगे जस्तै छौं ।’ उनी भन्छन्, ‘४० वर्ष अघि लगातार ५ वर्ष राष्ट्रिय प्रतियोगिता जित्यौं । त्यो बेलादेखि राष्ट्रिय खेलाडी उत्पादन गर्दै आएका छौं । जति विभागमा स्टार खेलाडी छन्, अधिकाशंले जावलाखेलमै अभ्यास गरेका छन् । पछिल्लो समय पुर्वाधार निर्माणमा पनि लागेका छौं ।’
५० सालदेखि आधिकारिक ट्रेनिङ सेन्टरको रुपमा काम गर्दै आएको जावलाखेलले अहिलेसम्म ४ हजार भन्दा बढी खेलाडी उत्पादन गरिसकेको छ, जसको रेकर्ड क्लबसंग सुरक्षित छ । अझ अन्तराष्ट्रिय स्तरका २३ जना पुरुष खेलाडी र १७ जना महिला खेलाडी जावलाखेलकै उत्पादन हुन् ।
प्रशिक्षक कपिल किशोर श्रेष्ठ क्लबको रुपमा जावलाखेलले खेलाडी, रेफ्री तथा प्रशिक्षक उत्पादनमा उल्लेख्य सफलता हासिल गरेको बताउँछन् ।
‘जावलाखेलको ट्रेनिङ सेन्टर सानो युनिट हो । एउटा जिल्ला, त्यसमा समेत एउटा इकाइको रुपमा क्लब रहेको छ । यो काम सबैले गरे कति खेलाडी उत्पादन हुन्थ्यो होला ?’ राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षक समेत रहिसकेका श्रेष्ठ प्रश्न गर्छन् ।
‘जावलाखेललाई भलिबलको स्कुल भनेपनि हुन्छ । स्तरीय प्रशिक्षक राखेर नियमित अभ्यास गराईरहेका छौं ।’ उनी भन्छन्, ‘खेलाडी राम्रो हुन्छ, विभागमा जान्छ । तर नियमित प्रशिक्षण गराउने काम भलिबल संघले समेत सकेको छैन ।’
राखेपका पुर्व प्रमुख प्रशिक्षक समेत रहेका श्रेष्ठ कभर्डहल बनेपछि भलिबलको एकेडेमी सञ्चालन गर्ने तयारी गरेको बताउँछन् ।
‘कभर्डहल बनेपछि एकेडेमी सुरु गर्दैछौं । खेलाडीलाई आफ्नो खुट्टामा उभिने गरि तयार गर्ने योजना सहित काम गर्दैछौं ।’ उनले भने ।
श्रेष्ठ आफै जावलाखेलको उत्पादन हुन् । नेपालले सन् १९९९ को साग खेलकुदमा भलिबलतर्फ ऐतिहासिक कास्य पदक जितेको थियो । नेपाली टिमको मुख्य प्रशिक्षक श्रेष्ठ थिए, टिमका अधिकांश खेलाडी जावलाखेल ट्रेनिङ सेन्टरका थिए ।
श्रेष्ठ खेलकुदमा प्राप्त हुने नतिजालाई लामो समयको योजना भन्न रुचाउँछन् । दिर्घकालिन योजना सहित जावलाखेल भलिबल ट्रेनिङ सेन्टर अघि बढेको उनको कथन छ ।
पछिल्लो समय जावलाखेलले खेलाडी टिकाउन समस्या झेलिरहेको छ । पहिलो स्थानीय खेलाडी धेरै हुन्थे । नियमित प्रशिक्षणमा भाग लिन्थे । अहिले बाहिरका जिल्लाका खेलाडी धेरै छन् । खेलाडी बनाउन समय लाग्छ, नियमित प्रशिक्षण गर्न पर्छ । बाहिरका खेलाडी धेरै समय नटिक्ने जावलाखेलको अनुभव छ ।
‘केही समय खेल्यो अनि हिड्ने जस्तै भएको छ ।’ अध्यक्ष खड्का भन्छन्, ‘आर्थिक कमजोरीका कारण लामो योजना बनाउन सकेनौ ।’
‘बाहिर जिल्लाको विद्यार्थी छ । भलिबल खेल्न आउँछ । तर खेलेर मात्र पुग्दैन । उसको आर्थिक पाटोमा मात्र सघाउन सक्यौ र अभ्यास गराउन सक्यौ भने वर्ष दिननै अभ्यास गर्ने वातावरण बन्थ्यो ।’ उनी भन्छन्, ‘सरकारी वा परिषद्बाट सहयोग आउने अवस्था बन्यो भने परिषद्ले प्रतियोगिताको मुखमा क्लोज क्याम्प राखेर अभ्यास गराउने जुन चलन छ, हामीले नियमित रुपमा अभ्यास गराउन सक्ने वातावरण बन्थ्यो ।’
अध्यक्ष खड्का दिर्घकालिन रुपमा स्रोत सुनिश्चित गरेर ट्रेनिङ सेन्टरको नतिजालाई दोब्बर बनाउने गरि काम गरिरहेको बताउँछन् ।
‘पुर्वाधारको काम भईरहेको छ । भौतिक पुर्वाधारलाई पुरा गर्न पर्नेछ । प्रशिक्षकलाई निकै न्युन पारिश्रमिक दिएर प्रशिक्षण गराई रहेका छौ । सरकारी दरबन्दीको लागि प्रदेश, संघ वा महानगरले सहयोग गर्न सक्छ कि भनेर अहिले त्यता लागिरहेका छौं । सेन्टर चलाउन कति आर्थिक भार पर्छ, त्यसको सुनिश्चितता गर्न सके अहिलेको भन्दा नतिजा दोब्बर गराउन सक्छौं ।’ खड्काले भने ।
क्लबको गौरवमय इतिहासको मुल्याङ्गन गर्दै बागमती प्रदेश सरकारले जावलाखेललाई प्यारापिट सहितको कभर्डहल बनाउन यसवर्ष बजेट दिएको छ । आगामी बैशाखभित्र निर्माण सक्ने लक्ष्य सहित कभर्डहल निर्माणको काम तिव्र गतिमा अघि बढेको छ । प्रदेश सांसद जिवन खड्काले सांसद विकास कोषको बजेटबाट ट्रेनिङ सेन्टरको चिटिक्क परेको कार्यालय भवन सञ्चालनमा आएको छ । खेलाडी उत्पादनमा प्रशस्त नाम कमाएको जावलाखेलले देशकै पहिलो भलिबलको कभर्डहल समेत बनाएर नाम राख्दैछ ।
‘खेलकुद हेर्ने छाताहरु मन्त्रालय, परिषद््ले ट्रेनिङ सेन्टरप्रति सकारात्मक दृष्टि राखिदियोस भन्ने चाहना छ । काम हेरेर मान दिने भन्छन् नि । काम नगर्ने जमात जम्मा गर्ने भन्दा काम हेरेर सहयोग गरेको खण्डमा अझ राम्रो नतिजा आउथ्यो जस्तो लाग्छ ।’ खड्का भन्छन् ।