मभन्दा बढी प्रसिद्ध कोही छैन : रोनाल्डो

काठमाडौं। विश्व फुटबलमा सधैं आफूलाई उत्कृष्ट ठान्ने पोर्चुगाली सुपरस्टार क्रिस्टियानो रोनाल्डोले फेरि एकपटक आफ्नो आत्मविश्वास प्रकट गरेका छन्।
लामो समयदेखि लिओनल मेसीसँग तुलना हुँदै आएका रोनाल्डोले यसपटक अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि आफ्नो लोकप्रियताको तुलना गर्दै आफूलाई अघि राखेका छन्।
हालै ब्रिटिश पत्रकार पियर्स मोर्गनसँगको विशेष अन्तर्वार्तामा रोनाल्डोले जीवन, ख्याति र लोकप्रियतासम्बन्धी आफ्ना विचार खुलाएका थिए। उक्त अन्तर्वार्ता बिहीबार सार्वजनिक भएको हो। सो क्रममा ४० वर्षे यो स्ट्राइकरले आत्मविश्वासका साथ भने,‘मभन्दा बढी प्रसिद्ध विश्वमा कोही छैन।’
मोर्गनले उनलाई क्यानडामा भएको जी–७ सम्मेलनमा ट्रम्पलाई रोनाल्डोको हस्ताक्षर गरिएको पोर्चुगलको राष्ट्रिय जर्सी उपहार दिइएको सम्झाए। त्यस प्रसङ्गमा मोर्गनले भने,‘सायद तपाईं र ट्रम्प नै संसारका दुई सबैभन्दा प्रसिद्ध व्यक्ति हुनुहुन्छ।’
तर, रोनाल्डोले मुस्कुराउँदै जवाफ दिए,‘म कि ट्रम्प त्यसबारे तर्क अरूलाई गर्न दिन्छु। तर, यदि मलाई सोध्नुहुन्छ भने, म नै बढी प्रसिद्ध हुँ।’
उनले थपे,‘मलाई लाग्छ संसारभर, साना टापुहरूमा पनि मानिसहरूले मलाई नै बढी चिन्छन्। विश्वमा मभन्दा बढी परिचित कोही छैन।’ रोनाल्डोको यो दाबी असत्य पनि देखिँदैन।
उनको इन्स्टाग्राममा ६५० मिलियन (६५ करोड) भन्दा बढी फलोअर छन्, जुन विश्वका सबैभन्दा धेरै हो। उनले युट्युब च्यानल खोलेलगत्तै पनि रेकर्ड संख्यामा सदस्य पाएका छन्।
फुटबलमै नभई विश्व मनोरञ्जन क्षेत्रमा समेत उनको प्रभाव देखिन्छ। त्यसैले, रोनाल्डोको आत्मविश्वासमा धेरैलाई आश्चर्य लाग्दैन। उनी साँच्चिकै विश्वकै सबैभन्दा चिनिने अनुहारमध्ये एक हुन्।











