काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बाल गोपाल महर्जनले साफ च्याम्पियनसिपको सेमिफाइनलमा पराजित हुनुको मुख्य कारण घाँसे मैदानमा अभ्यास नगर्नु रहेको बताएका छन् ।
बंगलादेशको ढाकामा जारी साफ अन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनलमा नेपाल माल्दिभ्ससंग ३ - ० ले पराजित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले माल्दिभ्ससंग उत्कृष्ट प्रदर्शन गर्न चुकेको थियो ।
साफको सेमिफाइनलमा पराजित भएपछि बुधबार त्रिभुवन विमानस्थलमा प्रशिक्षक महर्जनले हारको मुख्य कारण घाँसे मैदानमा खेल्ने बानी नहुनु र मैदान हिलो भएकै कारण नेपाल खेलमा फर्किन नसकेको बताए ।
'मुख्य कारण घाँसे मैदानमा अभ्यास गर्न पाएनौ । मौसमले साथ नदिनु पनि खेल हार्नुको कारण रह्यो,' प्रशिक्षक महर्जनले भने।
यस्तै प्रशिक्षक महर्जनले गोल गर्ने मौका र बल पोजिसन राख्न सफल भएपनि गोल ननिस्किएको बताए । उनले भने, 'हामीले धेरै मौका पायौ, बल पकड समेत बनायौ । तर, भरत, नवयुग र विमलले पाएको मौका सदुपयोग गर्न सकेनन् ।'
त्यस्तै उनले माल्दिभ्ससंग पराजित हुँदै ट्रफी जितेर सारा नेपालीलाई खुसीयाली दिने मौका चुकाएको समेत बताए ।