काठमाडौं । उपाधि मात्र दुई कदम अगाडी थियो । समिकरण अनुसार फाईनल यात्रा तय गर्नेमा सबै निश्चित थिए । सोचेका थिए, भारतको उमेर समुहमाथि नेपाल पक्कै हावी बन्नेछ । र जित्ने छ, १२ औ संस्करणको साफ फुटबलको उपाधि ।
आह, कति मिठो सपना ।
समुह विजेताको रुपमा सेमिफाईनल पुगेपछि नेपाल उपाधिको दाबेदार दरिएको थियो । समुह चरणको रवाफिलो प्रर्दशनले समेत नेपाल बलियो देखाएको थियो । तर दिन सधै एक रहदैन रै छ । भाग्य अजिवको चिज हुने रैछ । समुह चरणमा एकै गोल नगरेर सेमिफाईनल पुगेको मल्दिभ्सले नेपाललाई पराजित ग¥यो । निकै निर्दयी ढङ्गले । नेपाली डिफेन्सको धजिया उडाउदै माल्दिभ्सले नेपाली पोस्टमा तीन गोल बर्षायो ।
सपना फेरी एक पटक चकनाचुर भयो । अपेक्षा फेरी सुन्यमा विलिन भयो । नेपाल साफ च्याम्पियनसिपमा फेरी एक पटक माल्दिभ्सको सिकार बन्यो । साफ फुटबलमा माल्दिभ्सको चुनौती पार गर्न नेपाल फेरी असफल भयो । माल्दिभ्सविरुद्धको असफलताले एक ईतिहास बनाएको छ । नेपाल चौथो पटक सेमिफाईलनमा घर फर्कदा त्यसको कारण माल्दिभ्स बनेको छ ।
नेपालले समुह चरणमा जस्तो खेल पस्कन सकेन । वर्षाका कारण खेल केहि समय रोकिए पनि नेपाली टोलीले खेलमा फर्किन बारम्बार प्रयास गर्यो, तर प्राप्त अवसरलाई सदुपयोग गर्न सकेन ।
फरवार्ड, मिडफिल्ड र डिफेन्समा पटक पटक समस्या देखिदा नेपाल खेलअवधिभर दबाबमा आयो ।
नेपाली डिफेन्स एक पटक फेरी आलोचनाको शिकार बन्नेछ । डिफेन्सको कमजोरीले अन्तिम समयमा दुई गोलको हिसाव फेरीपनि गरिनेछ । तर मिडफिल्डमा गेम बिल्डअप गर्न नसक्ने परम्परा अहिलेसमेत यथावत छ ।
उपाधिको सदाबहार दाबेदार नेपालले साफमा कहिल्यै माल्दिभ्सलाई हराउन सकेन । नेपाल यसअघि माल्दिभ्ससँग खेलेका ६ खेलमा हार ब्यहोरेको थियो ।
स्टार खेलाडी अलि अस्फाकविनै बंगलादेश आएको माल्दिभ्सले यसपटक फाईनल यात्रा तय गरेको छ । सायद उसलाई भाग्यको समेत साथ छ । समुह चरणमा त्यो देखिएको थियो ।