ढाका । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बाल गोपाल महर्जनले बलियो टिम माल्दिभ्सविरुद्ध सचेत भएर खेल्न नसक्दा पराजित भएको बताएका छन् ।
ढाकास्थित बंगबन्धु रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा नेपाल माल्दिभ्ससंग ३ - ० ले पराजित भएको थियो । यो हारसंगै नेपालको उपाधि जित्ने सम्भावना समेत सकिएको थियो ।
'भारतभन्दा माल्दिभ्स केहि हदसम्म बलियो हो । व्यक्तिगत खेलाडीहरुले राम्रो गर्दै आइरहेको थियो । तर, अघिल्लो दुई खेलमा उनीहरुको प्रदर्शन उच्च थिएन,' प्रशिक्षक महर्जनले भने, 'माल्दिभ्ससंग सचेत नहुदा पराजित हुन पर्यो ।'
यस्तै प्रशिक्षक महर्जनले नेपाललाई भाग्य र मौसमले साथ नदिएको बताए ।
महर्जनले भने, 'दर्शक र सम्पूर्ण नेपाली र खेल शुभचिन्तकले जति अपेक्षा गरेका थिए त्यो पुरा गर्न सकेनौ । दुख लागेको छ । तर, खेलमा यस्तो हुन्छ । हामी चुकेको भनेको मैदानको अवस्था हो र हामी जुन गल्ति गर्नु नपर्ने त्यो गल्तिहरु धेरै गयौ । नेपाललाई आज भाग्यले समत साथ दिएन ।'