राजुकाजी शाक्यले खेलाडीका रुपमा नेपाली फुटबलमा स्वर्णिम यात्रा तय गर्न पाए । उनले खेलाडीको रुपमा सागमा स्वर्ण जिते । प्रशिक्षकको रुपमा त्यही प्रतियोगितामा पुन सफलता पाए ।
खेलाडी र प्रशिक्षकको रुपमा विरलै पाईने सफलता शाक्यले आफ्नो नाममा लेखाए । अब नेपाल साफ च्याम्पियनसिपको उपाधिबाट मात्र दुई कदम पछाडी छ । समूह विजेताको रुपमा साफको सेमिफाईनलमा पुगेको नेपालसंग धेरैले उपाधिको आश गरेका छन् र प्रबल दाबेदार मानेका छन् ।
सागका स्वर्णधारी शाक्य नेपालको प्रर्दशन र उपाधि सम्भावना बारे के भन्छन् त ? खेलपाटीका सन्तोष रेग्मीले शाक्यसंग बंगलादेशमा जारी १२ औ साफ च्याम्पियनसिपको सेरोफेरोमा केन्द्रित रहेर कुराकानी गरेका छन् ।
माल्दिभ्सविरुद्ध नेपाललले कस्तो खेल खेल्नुपर्ला ?
सानो सानो कुरामा ध्यान पुराउनुपर्छ । नेपालको एउटा पक्ष बलियो भएको बेला अर्को पक्ष कमजोर भएर आईदिन्छ । त्यसैले माल्दिभ्ससंग हुने खेलमा नेपालले आट्याकिङ लाईन बलियो बनाउन जरुरी छ । यदि नेपालले माल्दिभ्सको डिफेन्स लाईनलाई झुकाउ सकेमा खेल उत्कृष्ट हुन्छ ।
इतिहास हेर्दा साफमा नेपालविरुद्ध माल्दिप्स सधै हावी रहदै आयो । यसको कारण ?
हो माल्दिभ्स बलियो छ । तर, त्यो इतिहास हो । नेपाली टोली पहिलेको जस्तो छैन । अहिले नेपालको खेल एकदमै राम्रो छ । खेलाडीले पनि निकै मिहेनत गरिरहेका छन् । नेपालका प्रशिक्षकले निकै राम्रो रणनीति बनाएर खेलाईरहेका छन् । त्यसैले लाग्छ यसपटक खराब इतिहास दोहरिदैन ।
कहिलेकाही नेपालको स्कोरिङमा ठुलो समस्या देखिन्छ, कसरी सुधार गर्नुपर्ला ?
खेलाडीले प्रशिक्षको कुरालाई ध्यानमा राख्न जरुरी छ । खेलभित्र छिर्दा जुन रणनीति नेपालको हुन्छ । अन्तिमसम्म त्यो देखिदैन । प्रशिक्षकको रणनीतिलाई ध्यानमा राखेर शुरुवातदेखि आक्रमक लाईनलाई प्राथमिकता दिने हो भने स्कोर निस्कन सक्छ । खेलाडीले आफ्नै तरिकाले खेले जित त होला तर सबै टोली उस्तै हुदैनन् ।
के नेपालले साफमा उपाधि जित्ला ?
अवश्य पनि । कुनै शंका छैन् । १२ औँ संस्करणको साफमा नेपालमात्र एउटा यस्तो टोली हो, जसमा साफ जित्ने क्षमता छ । नेपालको खेल इतिहास कमजोर छैन । प्रशिक्षकको राम्रो रणनीति र खेलाडीको उत्कृट प्रदर्शन आवश्क छ । नेपालले शुरुवाती देखिनै अट्याकिङ लाईनलाई बलियो बनाउनु पर्छ ।
नेपाललको अहिलेसम्मको प्रर्दशनको मुल्याङ्कन कसरी गर्नुहुन्छ ?
सोचेको भन्दा फरक छ नेपाली टोली । हालसम्म साफको उपाधि जित्न नसकेको नेपालले चौथो पटक सेमिफाईनलमा स्थान बनाएको छ । पहिलो खेलमा हार ब्यहोरेको नेपालले दोस्रो र तेस्रो खेल सम्झिन लायक खेल्यो । नेपालको यस पटकको खेलदेखि निकै प्रभावित छु । मलाई पुरा भरोशा छ, १२ औँ सस्करणको साफ नेपालकै नाममा हुनेछ ।