काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
मुलपानी क्रिकेट मैदानमा आइतबार कर्णाली प्रदेशलाई ८० रनले पराजित गर्दै आर्मीले लगातार दोस्रो जित निकालेको हो ।
आर्मीले दिएको १ सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ३३ ओभर ३ बलमा अलआउट हुँदै १ सय १५ रन मात्र बनाउन सक्यो ।
कर्णालीका लागि कप्तान रविन्द्र शाहीले सर्वाधिक ३० रन बनाए । हेमन्त ओलीले १६ रन जोड्दा दिनेश अधिकारीले १२ रन जोडे ।
आर्मीका सुशन भारीले ४ विकेट लिए । शाहब आलमले ३ र रोहित पौडेलले २ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४३ ओभर १ बलमा अलआउट हुँदै १ सय ९५ रन बनाएको थियो ।
आर्मीका लागि अनिल मण्डलले ८९ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान विनोद भण्डारीले ४१ रन बनाए ।
यस्तै राजेश पुलामीले १६, लोकेश बमले १३ र रोहित पौडेलले ११ रन बनाए ।
कर्णालीका दिनेश अधिकारी, राज शाह र दिवन पुनले २/२ विकेट लिए ।
पहिलो खेलमा आर्मीले गण्डकी प्रदेशलाई ९९ रनले हराएको थियो ।
जितसँगै आर्मीले २ खेलमा ४ अंक जोडेको छ ।
समूह 'ए' मा रहेको आर्मी शीर्ष स्थानमा रहेको छ ।
कर्णालीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
याे पनि, पुलिसमाथि बागमतीको सहज जित