काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज (आईतबार) दुई खेल हुदैछ ।
समुह बीको खेलमा बागमती प्रदेश र नेपाल पुलिस क्लब तथा समुह एको खेलमा त्रिभुवन आर्मी र कर्णाली प्रदेश भिड्दैछन् ।
बागमती प्रदेश राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा मैदान उत्रनेछ । प्रतियोगिताको पहिलो खेल अघि बागमतीले प्रत्येक खेलाडीलाई प्रदेश सरकारको तर्फबाट म्याच शुल्क वापत हरेक खेलको २ हजार रुपैयाँ प्रति खेलाडी दिने घोषणा गरेको छ ।
साथै प्रदेशका सबै खेलाडीको ५ लाख रुपैयाँको बिमा समेत गरिदिएको छ । शतक प्रहार गर्ने प्रदेशका खेलाडीलाई जनही १० हजार रुपैयाँ दिने घोषणा समेत गरेको छ ।
विभागीय टिमविरुद्ध उत्रदै गर्दा बागमती पहिलो जितको खोजीमा हुनेछ । पूर्व कप्तान पारस खड्का समेत बागमतीको टिमबाट मैदान उत्रनेछन् । तर राष्ट्रिय टिमका खेलाडीले भरिएको पुलिसविरुद्ध खेल्न बागमतीलाई सजिलो हुने छैन ।
अमित श्रेष्ठ सहितको पुलिसको टिममा कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी जस्ता स्टार खेलाडी समावेश छन् ।
दुवै टिम पहिलो खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यमा छन् ।
खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।
अर्को खेलमा त्रिभुवन आर्मी क्लब लगातार दोस्रो जित निकाल्दै लक्ष्य सहित कर्णाली प्रदेशविरुद्ध उत्रनेछ । पहिलो खेलमा कप्तान बिनोद भण्डारीको शतकमा गण्डकी प्रदेशलाई पराजित गरेको आर्मी सोही प्रर्दशन दोह¥याउने लक्ष्यमा छ ।
राष्ट्रिय टिमका स्टार खेलाडीको साथ पाएको आर्मी मुख्य खेलाडीत्रय कुशल मल्ल, करण केसी र सोमपाल कामीबिनै फाईनल खेलका लागि आफुलाई तयार पार्न चाहन्छ । तीन जनै खेलाडी दुबईमा हुने टी–टेन लिगका लागि बाहिर प्रस्थान गर्ने तयारीमा छन् ।
कर्णाली आफ्नो पहिलो खेलमा आर्मीविरुद्ध मैदान उत्रदैछ । बलियो टिम आर्मीविरुद्ध जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्य कर्णालीको छ ।
समुह एमा आर्मीले दुई अंक बटुलेको छ । कर्णाली अंक विहिन छ ।