काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफले प्रदेश-१ लाई जितका लागि २ सय ४४ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४८ ओभर ४ बलमा अलआउट हुँदै २ सय ४३ रन बनायो ।
एपीएफका लागि आसिफ शेखले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै वसन्त रेग्मीले ४० रन जोड्दा सन्दीप जोराले ३० रन बनाए ।
कप्तान शरद भेषवाकरले २० तथा किशोर महतो र सुवास खकुरेलले समान १९/१९ रन जोडे । सुमित महर्जन १४ रनमा आउट भए ।
प्रदेश-१ का फिर्दोस अन्सारी, हेमन्त राई र दिपेश कंडेलले २/२ विकेट लिए ।
आज एपीएफ सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ । राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको एपीएफको टिम निकै मजबुत रहेको छ ।
यता, प्रदेश-१ पनि सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । प्रदेश- १ लाई पनि निकै बलियो टिमको रुपमा हेरिएको छ ।
यसै समूहको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरिसकेको छ । शुक्रबार आर्मीले गण्डकी प्रदेशलाई ९९ रनले हराएको थियो ।