काठमाडौं । काठमाडौं जिल्ला क्रिकेट एसोसियसन बागमती प्रदेश क्रिकेट टिम छनोटको फाइनलमा प्रवेश गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा सोमबार भएको समूह चरणको अन्तिम खेलमा मकवानपुरलाई ७ विकेटले पराजित गर्दै काठमाडौं फाइनल पुगेको हो ।
पहिले ब्याटिङ गरेको मकवानपुरले ३० ओभर १ बलमा अलआउट हुँदै ७३ रन बनाएको थियो ।
मकवानपुरका गौरव खड्काले सर्वाधिक १५ रन जोडे । युबिन बुढाथोकीले १० रन बनाए ।
काठमाडौंका आरियो पौडेलले ५ विकेट लिए । सन्जम रेग्मीको नाममा २ विकेट रह्यो ।
मकवानपुरले दिएको ७४ रनको सामान्य लक्ष्य काठमाडौंले २० ओभर २ बलमा ३ विकेट गुमाएर पुरा गर्यो ।
काठमाडौंको जितमा इशान पाण्डेले अविजित ३२ रन बनाए । जितेन्द्र सिंह ठकुरीले १४ रन बनाए ।
मकवानपुरका बिपुल खनाल, राम नरेश गिरी, पियुस शर्माले १/१ विकेट लिए ।
जितसँगै काठमाडौं समूह 'ए' शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो ।
अब काठमाडौंले फाइनलमा चितवनसँग खेल्नेछ ।
अर्को खेलमा भक्तपुरले नुवाकोटलाई ८ विकेटले नै हराएको छ ।