एजेन्सी । अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा मेलबर्न स्टार्सले सन्दीप लामिछाने आबद्द होबार्ट हरिकेन्सलाई जितका लागि १ सय ८४ रनको लक्ष्य दिएको छ ।
होबार्टमा टस हारेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनायो ।
मेलबर्नका लागि मार्कुस स्टोनिसले अविजित रहदै ९७ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै हिल्टन कार्टराइटले ३६ रन जोड्दा निकोलस पुरनले २६ रन बनाए ।
आन्द्रे फ्लेट्चरले १० रन जोड्दा कप्तान ग्लेन म्याक्सवेलले ६ रन बनाए ।
होबार्टका नाथन एलिसले ३ विकेट लिए । रिले मेरेडिथले २ तथा सन्दीपले १ विकेट लिए ।
सन्दीपले ४ ओभरमा ३६ रन खर्चिएर १ विकेट हात पारेका हुन् ।
सन्दीपले लगातार दोस्रो खेलमा विकेट लिएका हुन् । अघिल्लो खेलमा उनले २ विकेट लिएका थिए ।
आज दुबै टिम जित निकाल्ने लक्ष्यमा रहेका छन् ।
लिगमा होबर्ट ७ खेलमा १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
मेलबर्नलाई हराएर होबर्ट दोस्रो स्थानमा उक्लन चाहन्छ ।
यस अघिको भेटमा होबर्टले मेलबर्नलाई २१ रनले हराएको थियो ।
मेलबर्न पनि होबर्टविरुद्ध अघिल्लो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।
मेलबर्न ६ खेलमा ११ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।