काठमाडौं । काठमाडौं जिल्ला क्रिकेट एसोसियसनले बागमती प्रदेश क्रिकेट टिमकाे छनोट खेलमा जित निकालेको छ ।
टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा काठमाडौंले नुवाकोटलाई २ विकेटले पराजित गरेको हो ।
नुवाकोटले दिएको २ सय ९ रनको लक्ष्य काठमाडौंले ८ विकेट गुमाएर पुरा गर्यो ।
काठमाडौंको लागि बिभत्सु थापाले ५१ रनको अर्धशतकीय इनिङ्स खेल्दा विपिन बिक्रम शाहीले ४२ रन बनाए ।
नुवाकोटका अभिराज यादवले ३ तथा राजेश रिमालले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको नुवाकोटले ४० ओभरमा ९ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो ।
नुवाकोटका लागि राजेश रिमालले ८१ रनको अर्धशतकीय इनिङ्स खेले । आयुस बस्नेतले २३ र पवन राईले २३ रन बनाए ।
काठमाडौंका इशान पाण्डेले ३ तथा सन्जम रेग्मीले २ विकेट लिए ।
अर्को खेलमा ललितपुरले त्रिभुवन युनिभर्सिटीलाई १ सय २३ रनले हराएको छ ।
पहिले ब्याटिङ गरेको ललितपुरले ४० ओभरमा ७ विकेट गुमाएर २ सय ६८ रन बनाएको थियो ।
ललितपुरका लागि पवन गोपाल श्रेष्ठले अविजित रहदै १ सय १७ रनको शतकीय इनिङ्स खेले । सचिन लेखकले ६४ रन बनाए ।
त्रिभुवन युनिभर्सिटीका पृथु बास्कोटाले ४ विकेट लिए ।
जवाफमा टियुले ४० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सक्यो ।
उसका लागि पृथु बास्कोटाले सर्वाधिक ४९ रन बनाए ।