एजेन्सी । घरेलु टिम न्युजिल्याण्डले वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा एक इनिङ्स र १ सय ३४ रनको जित निकालेको छ ।
ह्यामिल्टनमा आइतबार दोस्रो इनिङ्समा वेस्ट इन्डिजले २ सय ४७ रन मात्र बनाउन सकेपछि न्युजिल्याण्डले एक इनिङ्समै जित निकालेको हो ।
फलो अनमा परेको वेस्ट इन्डिजले शनिबार ६ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो । तर, चौंथो दिन वेस्ट इन्डिजले थप ५० रन मात्र बनाउन सक्यो ।
वेस्ट इन्डिजका जेर्मिने ब्लाकवुडले १ सय ४ रनको शतकीय इनिङ्स खेलेपनि टोलीको हार जोगाउन सकेनन् ।
यस्तै अल्जारी जोसेपले ८६ रनको अर्धशतकीय इनिङ्स खेले । त्यसबाहेक डारेन ब्राभोले १२ तथा कार्लोस ब्रेथवेटले १० रन जोडे ।
न्युजिल्याण्डका निल वाग्नेरले ४ विकेट लिएका छन् । केली जेमिसनले २ विकेट लिए ।
यस अघि वेस्ट इन्डिजले पहिलो इनिङ्समा १ सय ३८ रन बनाएको थियो ।
पहिलो इनिङ्समा उसका जोन क्यापबेलले २६ तथा कप्तान जासन होल्डरले अविजित २५ रन बनाए ।
यस्तै जेर्मिने ब्लाकउडले २३ रन जोड्दा कार्लोस ब्रेथवेटले २१ रन बनाए । चोटका कारण वेस्ट इन्डिजका शेन डरिचले ब्याटिङ गरेनन् ।
वेस्ट इन्डिजको इनिङ्स ध्वस्त बनाउन न्युजिल्याण्डका टिम साउथेले ४ विकेट लिएका थिए । निल वाग्नेरले ३ तथा केली जेमिसनले २ विकेट लिए ।
न्युजिल्याण्डले भने ७ विकेट गुमाएर ५ सय १९ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।
न्युजिल्याण्डको उच्च स्कोरमा कप्तान केन विलियम्सनले २ सय ५१ रनको दोहोरो शतकीय इनिङ्स खेले । टेस्टमा विलियम्सनको यो तेस्रो दोहोरो शतक हो ।
यस्तै टम लाथमले ८६ रनको अर्धशतकीय इनिङ्स खेल्दा केली जेमिसनले अविजित रहदै ५१ रन बनाए ।
रोस टेलरले ३८ तथा टम ब्लुनडेलले १४ रन बनाए ।
वेस्ट इन्डिजका केमार रोच र शानन ग्राबियलले ३/३ विकेट लिए ।
जितसँगै न्युजिल्याण्डले २ खेलको टेस्ट सिरिजमा १-० को अग्रता बनाएको छ ।
दुई टिमबीचको दोस्रो टेस्ट शुक्रबार सुरु हुनेछ ।